
गण्डकी प्रदेश सरकार संकटमा, मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावको तयारी
प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव प्रदेश सरकारमा पनि पर्ने भएको छ । नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि संकटमा पर्ने विश्लेषकको भनाई छ ।
गण्डकी प्रदेशसभामा नेकपाका ४० (पूर्व एमाले २८ र पूर्व माओवादी १२) सदस्य छन् । त्यस्तै, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सदस्य छन् । नेकपाको दुईतिहाई मतबाट गुरुङ मुख्यमन्त्री बनेका हुन् । तर संसद विघटनसँगै नेकपामा देखिएको पार्टी फुटको गतिविधिको बाछिटा तलसम्म आईपुग्दा प्रदेश सरकार फेरबदलको जोडघटाउ पनि सुरु भएको छ ।
पुष्पकमल दाहाल पक्षीय प्रदेशसभा सदस्य रामजीप्रसाद बराल समीकरण फेरबदलको जोडघटाउ शुरु भइसकेको बताउँछन् । ‘कम्युनिष्ट सक्ने केपी ओलीको पक्षमा पृथ्वीसुब्बा गुरुङ उभिए प्रदेशसभा बैठक सुरु भएलगत्तै उनी (गुरुङ) विरुद्ध अविश्वासको प्रस्ताव ल्याईन्छ,’ बरालले भने, ‘कांग्रेस र साना दलको साथ लिएर गुरुङ नेतृत्वको प्रदेश सरकार फाल्ने सम्भावना प्रवल छ ।’
प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पनि वर्तमान प्रदेश सरकार बिरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने बताउँछन् ।
गण्डकी प्रदेशमा पूर्व एमालेका २८ र पूर्व माओवादीका १२ सदस्य छन् । पूर्व एमालेका २८ मध्ये २७ सदस्य केपी शर्मा ओली पक्षधर हुन् । पूर्व एमालेबाट ईन्द्रलाल सापकोटा मात्र माधव नेपाल समूहका हुन् । उनले आईतबारै संसद विघटन गर्ने ओलीको कदमको विरोध जनाउँदै आफु प्रचण्ड(नेपाल समूहमा रहेको छनक दिइसकेका छन् । त्यसैले प्रचण्ड/माधव समुहमा १३ सदस्य देखिन्छन ।
ओली पक्षमा रहेका भनिएका २७ मध्ये अरु ३(४ जना ठ्याक्कै ओली पक्षको नभई जसको लविङ पुग्छ उसैको हुने चर्चा पनि चल्न थालेको छ । त्यस्तै गण्डकी प्रदेशमा सरकार फेरबदल हुँदा साना दल पनि निणर्ायक बन्ने देखिएको छ । किनभने २७ सदस्य हुँदा ओली पक्षले जसपाको २ र जनमोर्चाको ३ सदस्यको साथ पाएमा मात्र सरकारलाई निरन्तरता दिनसक्ने देखिन्छ । त्यसो भएमा ६० सदस्यीय गण्डकी प्रदेशसभामा उसको बहुमत पुग्छ ।
तर प्रचण्ड/माधव समूहमा १३ सदस्या रहँदा र कांग्रेसको १५ सदस्य थपिँदा २८ हुने भएकाले जनमोर्चाको साथ पाएमात्र पनि नयाँ समीकरण बनाएर सरकार बनाउन सक्ने सम्भावना देखिन्छ । यसो भएमा पृथ्वीसुब्बा नेतृत्वको वर्तमान प्रदेश सरकार ढल्छ र नयाँ सरकार बन्छ । तर जनमोर्चाले अहिले नै यसबारे मुख खोलिनसकेकाले यसै भन्नसक्ने अवस्था भने छैन ।
जनमोर्चाले साथ नदिएको अवस्थामा जसपाको २ थपिँदा यो समीकरणमा ३० जना मात्र सदस्य हुन्छन् । यो सरकार बनाउन भने पर्याप्त होईन । त्यसैले जनमोर्चाको साथ यो समीकरणका लागि अनिवार्य जस्तै छ ।




