
समयमै कृषि मल उपलब्ध गराउन सांसद दवाडीको माग
नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
धानमा मल राख्ने बेला भएको तर रासयनिक मल उपलब्ध नहुँदा किसानहरु समस्यामा परेको भन्दै सांसद दवाडीले यथासमयमा किसानलाई मल उपलब्ध गराउन जोड दिए । ‘पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा समय गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नुले वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गरेको छ’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।
गरिब किसानले दुःख कष्टका साथ लगाएको धानबाली पहेँलिन थालेको भन्दै सांसद दवाडीले यसले उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन् ।
उनले मल आयातमा पनि कोभिड–१९ का सामाग्री ल्याउँदाजस्तो अनियमितता हुने त होइन भनी प्रश्न गरेका छन् । मल आयातमा भइरहेको ढिलाइ तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत उनले माग गरेका छन् ।
समयमा मल नदिएर सरकार किसानप्रति उदासिन भएको उनको आरोप छ । ‘धान गोड्ने बेला छ । किसानले मल पाएनन् । सरकार किसानप्रति गम्भीर भएन,’ उनले भने, ‘जनतामाथि भ्रमको खेती छरेको छ । मलाई चिन्ता लागेको छ । तत्कालै मल उपलब्ध गराओस् ।’




