
अजीरकोट गाउँपालिकाको अर्धवार्षिक समीक्षा : विकास बजेट १३ प्रतिशत खर्च
अजीरकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा विकास बजेट १३ प्रतिशत खर्च गरेको छ । हालसम्म २९ प्रतिशत वित्तीय प्रगति भएकोमा पुजीँगततर्फ १३ प्रतिशत र चालुतर्फ ४१ प्रतिशत प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञावलीले जानकारी दिए ।
सोमबार सम्पन्न हिउँदे अधिवेशन तथा अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञावलीले गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमहरुमध्य ९० प्रतिशतको सम्झौता भएर पनि कार्यान्वयन प्रक्रियामा गइसकेको जानकारी गराएका हुन् ।
गाउँपालिकाका सबै वडाअध्यक्षहरुद्वारा पेश भएको योजनाहरुको प्रगति विवरणको आधारमा सो तथ्याङ्क निकालिएको ज्ञावलीले जानकारी दिए । अर्धवार्षिक समीक्षा कार्यक्रममा वडा नं. १ का अध्यक्ष मनु गुरुङ, २ का अध्यक्ष भीमलाल तामाङ, ३ का अध्यक्ष तयराज गुरुङ, ४ का अध्यक्ष जंगबहादुर गुरुङ र ५ का अध्यक्ष झलप्रसाद देवकोटाले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष फणिन्द्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत आर्थिक बर्षको बाँकी तीन करोड ६० लाख रुपैयाँ बराबरको संशोधित बजेट तथा कार्यक्रम अनुमोदन गरेको थियो ।





