
लिगलिगकोटमा क्रिसमस साँझ गोरखा बजारमा नयाँबर्ष साँझ
गोरखा होटल संघले अङ्ग्रेजी मितिको नयाँ बर्षमा गोरखा बजारमा ‘स्टिूट फुडफेस्टिबल’ आयोजना गर्ने भएको छ । क्रिशमस डे को उपलक्ष्यमा डिसेम्बर २४ गते लिगलिगकोटमा क्रिसमस साँझ मनाउने भएको छ ।
शुक्रबार सम्पन्न संघको बैठकले क्रिसमस डे र न्यू इयर साँझ विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको संघका सदस्य निधि तिमिल्सिनाले जानकारी दिए ।
‘नेपाल भ्रमण बर्ष २०२० को उपलक्ष्यमा गोरखा होटल संघले क्रिसमस डेको अघिल्लो साँझ लिगलिगकोटमा विशेष कार्यक्रम गर्ने निर्णय भएको छ’, उनले भने, ‘त्यस्तै नयाँ बर्षको उपलक्ष्यमा डिसेम्बर ३० को राती गोरखा बजारमा फुडफेस्टिबल आयोजना गर्ने निर्णय भएको छ ।’ क्रिसमस डेको उपलक्ष्यमा सो साँझ पाँचबजेदेखि राती १२ बजेसम्म औपचारिक कार्यक्रमका साथै लोक दोहोरी तथा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउने निर्णय भएको उनले बताए ।
त्यस्तै नयाँबर्षको उपलक्ष्यमा डिसेम्बरको अन्तिम साँझ पाँचबजेदेखि राती १२ बजेसम्म बिभिन्न साँस्कृतिक कार्यक्रम, सडकमै खाना महोत्सव गर्ने निर्णय भएको संघका निवर्तमान अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । ‘रानीपोखरीदेखि तीनधारेसम्म सडकको दुवैतर्फ खाना महोत्सव आयोजना गरिनेछ’, श्रेष्ठले भने, ‘फुडफेस्टिबल तीन दिनसम्म सञ्चालन गर्ने भनेर निर्णय भएको छ ।’ फुडफेस्टिबलमा स्थानीय नेवारी खानाका परिकारहरु राखिने उनले बताए । साथै नेवारी धिमे नाच लगायतका सांस्कृतिक कार्यक्रमहरु गरिने संघले जनाएको छ ।
लिगलिग क्रिसमस साँझका लागि पालुङटार नगरपालिकासंग सहकार्य गरिने र फुडफेस्टिबलका लागि गोरखा नगरपालिकासंग सहकार्य गर्ने संघको योजना रहेको संघका सदस्य तिमिल्सिनाले जानकारी दिए ।
यी दुई क्रिसमस साँझ र नयाँबर्ष स्ट्रिट फुडफेस्टिबलले गोरखाको पर्यटन विकासमा उल्लेखनीय टेवा पु¥याउने होटल संघले विश्वास लिएको छ । ‘भ्रमण बर्षको संघारमै गरिने यस्ता कार्यक्रमले गोरखामा पर्यटकको संख्या बढ्ने विश्वास लिइएको छ’, तिमिल्सिनाले भने, ‘हामीले यी दुवै कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एशोसिएशन(टान), नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समिति सबैसँग सहकार्य गर्नेछौं ।’
होटल संघको अगुवाइमा पँदेली देखि तीनधारेसम्मका घरहरु प्राचीन शैलिको छाना, गारो तथा रङहरुमा सजाउने र होमस्टे सञ्चालन गर्ने बारे छलफल भएको छ । केहीदिनभित्रै केही घरहरुमा होमस्टे सञ्चालनका लागि भाडामा लिने तिमिल्सिनाले बताए ।




