
५६ महिनापछि लाप्राकका विद्यार्थी टहराबाट पक्की भवनमा
बिगत ५६ महिनादेखि टहरामा बसेर पढिरहेका मणिकामदेवी मावि लाप्राकका विद्यार्थी बुधबारदेखि पक्की भवनमा बसेर पढ्न पाएका छन् । छ, छ कोठा भएको दुईवटा विद्यालय भवन निर्माण सम्पन्न भएपछि त्यहाँका चारसय ५० जना विद्यार्थी र २१ जना शिक्षक पक्की भवनमा सरेका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किसान गुरुङले जानकारी दिए ।
‘छ, छ कोठा भएका दुई वटा विद्यालय भवन निर्माण सम्पन्न भयो । त्यहाँ फर्निचर राख्ने काम पनि सम्पन्न भएपछि विद्यार्थी र शिक्षक कर्मचारीलाई नयाँ भवनमा सारेका छौं’, उनले भने, ‘नयाँ भवनमा सरेपछि भूतप्रेत, उँडुवा, डुलुवाले दुख नदेओस् भनेर बिहानैदेखि गाउँको रीत अनुसार धामीझाँक्री देवदेवी, सिमेभूमेको पूजाआजा गरियो । सबैलाई सुखशान्ति होओस् भनेर चारघण्टासम्म पूजा गरेर नयाँ भवनमा सारेका हौं ।’

नयाँ भवनमा बसेर पढ्न पाएपछि विद्यार्थीहरु खुशी भएको प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । ‘टहरामा बसेर पढ्दा गर्मीका बेला पनि गाह्रो थियो । जाडोका बेला झन् हिउँ परेर स्कूल विदा नै गर्नुपर्ने अबस्था थियो’, प्रअ गुरुङले भने, ‘अहिले आरसिसी भवनमा आधुनिक फर्निचरमा बसेर पढ्न पाएपछि विद्यार्थी धेरै खुशी भएका छन् ।’
दुख भोगिरहेका विद्यार्थीका लागि पक्की भवन बनाएर लेजामी द लाप्राक र गणेश हिमाल एशोसिएशनले लाप्राकबासीलाई ठूलो गुन लगाएको धार्चे गाउँपालिका ४ लाप्राकका वडाअध्यक्ष राज गुरुङले बताए । ‘अब हिउँ पर्ने बेला भएको छ विद्यार्थीहरु हिउँको डल्लोमा बसेर पढ्नुपथ्र्यो तर बेलैमा नयाँ भवनमा बसेर पढ्न पाएका छन्’, उनले भने ।
नवनिर्मित भवनको गणेश हिमाल एशोसिएशनका अध्यक्ष सुनार गुरुङ, वडा अध्यक्ष राज गुरुङ र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किसान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा संस्थाका अध्यक्ष सुनार गुरुङ, वडा अध्यक्ष राज गुरुङ, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किसान गुरुङ, विद्यालयका सल्लाहकार मार्सिङ गुरुङ, निर्माण समितिका सचिव हस्तबहादुर गुरुङ, शिक्षक खगेश्वर सापकोटा र शिक्षिका स्मृति गुरुङले मन्तव्य ब्यक् गरेका थिए । सो विद्यालयका लागि आवश्यक फर्निचर पनि सोही संस्थाले उपलब्ध गराएको प्रधानाध्यापक गुरुङले जानकारी दिए । आगामि दिनमो पनि सहयोग पाइरहने उनले अपेक्षा गरे ।
सो विद्यालयको भवन भूकम्पअघि पनि सोही संसथाले निर्माण गरेको थियो ।





