| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी प्रभावितलाई मुआव्जा प्रक्रिया ढिला गरिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

 

नेपाली काङ्ग्रेस गोरखाले बूढीगण्डकी प्रभावित आरुघाट, आर्खेत, विशालनगर, खहरे क्षेत्रका बासिन्दाका लागि तत्काल उचित मुआव्जा निर्धारण गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गरी काङ्ग्रेसले लामो समयदेखि घरजग्गा रोक्का राखिएको र अहिलेसम्म मुआव्जा निर्धारण पनि नगरिएको भन्दै यदि तत्काल मुआव्जा निर्धारण र वितरण नभए आन्दोलनका लागि आफूहरु बाध्य हुने चेतावनी पनि दिएको छ ।

 

‘पछिल्लो क्रियाकलाप हेर्दा सरकार नेपाली जनताको समस्या र आयोजना बनाउने प्रति उदासिन देखिएको हुदाँ नेपाली काँग्रेस तत्काल जनताको समस्या समाधान गरी आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्ने कार्यको सुनिश्चित गर्न आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

पार्टी सचिव नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘परियोजनाले आवश्यक जग्गा भनी रोक्का गरेकोमध्ये गोरखाको आरुघाट बजार र आर्खेत बजार, धादिङ्गको बिशालनगर, त्रिपुरेश्वर र खहरे क्षेत्रका घर जग्गाको हालसम्म सरकारद्वारा मुआब्जा निर्धारण नहुनुले सो क्षेत्रको जनताप्रति राज्यद्वारा ठुलो अन्याय भएको नेपाली काँग्रेस गोरखाको ठहर छ’ भनिएको छ ।

हाल भएको मुल्य बृद्विलाई आधारमानी मुआब्जा रकम वृद्वि गरी जनतालाई उपलब्ध गराउनको निम्ति नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गोरखाले विज्ञप्तिमार्फत जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्