| आइतवार, कार्तिक २२, २०८३

दशैं सस्तो व्यापार मेला तयारीको ४० प्रतिशत काम सम्पन्न, मेलामा साल्ट ट्रेडिङ र खाद्य संस्थानले पनि सुपथ मूल्यका सामग्री बेच्ने

 

गोरखा च्याम्बर अफ कमर्शले यही असोजको आठ गतेदेखि सञ्चालन गर्न लागेको दशै सस्तो व्यापार मेलामा नेपाल खाद्य संस्थान र साल्ट टूेडिङ कर्पोरेशनले पनि स्टल राख्ने भएको छ ।

दशैंका बेला उपभोक्ताको हितलाई ध्यानमा राखी खाद्य संस्थानले ढुवानी सहुलियतमा पाइने चामलको स्टल राख्ने आयोजक गोरखा च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै साल्ट टूेडिङ कर्पोरेशनले पनि सुपथ मूल्यको नून, चिनी र च्यूरा बिक्री गर्नका लागि स्टल लिएको श्रेष्ठले बताए । मेलामा साल्ट टूेडिङले चिनी प्रतिकिलो ७२ रुपियाँमा र नून प्रति केजी १८ रुपैयाँमा बेच्ने च्याम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेशनल टूेडिङ कर्पोरेशन र नेपाल खाद्य संस्थान मर्ज भएर हालै बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि स्टल राख्ने बारेमा आउँदो पाँच गते निश्चित हुने साबिक खाद्य संस्थानका गोरखा कार्यालय प्रमुख नवीन बस्नेतले जानकारी दिए । बस्नेतले संस्थानको गोरखा कार्यालयबाट पनि जीरा मसिनो र सोना मन्सुली चामल साबिक भन्दा प्रतिकेजी पाँच रुपैयाँ घटाएर बिक्री भइरहेको जनाएका छन् । च्याम्बरको मेलामा स्टल राखिएमा सोही मूल्यमा बिक्री गर्ने ब्यबस्था मिलाइने उनले बताए । कम्पनीले आउँदो कात्तिक १६ गतेसम्म सो चामल सो मूल्यमा बेच्ने जनाएको छ ।

हरमटारी खेलमैदानमा आउँदो आठ गतेदेखि हुने सस्तो ब्यापार मेलाको तयारी अहिलेसम्म ४० प्रतिशत सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार अहिले धमाधम १५० वटा स्टलहरु निर्माणको काम भइरहेको छ । मेलाको स्टलमा कृषि सामग्री पनि बिक्रीका लागि राखिने उनको भनाइ छ ।

मेलामा सांगीतिक कार्यक्रम गरी मनोरञ्जन गराउनका लागि प्रमोद खरेल, मेलिना राई, प्रकास सपुत, प्रीति आले, शान्ति श्री परियार, राधिका हमाल, ज्योति मगर आउने निश्चित भइसकेको च्याम्बर अफ कमर्शले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्