| सोमवार, कार्तिक २३, २०८३

महासंघबाट बाहिरिने शिक्षक संघको चेतावनी

दरौंदी : नेकपा निकट शिक्षक संगठनले केही दिनदेखि आन्दोलन गरिरहँदा पनि शिक्षक महासंघले विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ, गोरखा नगरसमितिले महासंघबाट बाहिरिने चेतावनी दिएको छ ।

विवाद समाधान गर्नुको साँटो महासंघका जिल्ला अध्यक्ष ध्रुव भट्टले आन्दोलनरत पक्षको पक्षपोषण गरी आन्दोलनका कार्यक्रमहरुको प्रचार प्रचार गरेको भन्दै संघको नगरसमितिले बुधबार प्रेस विज्ञप्ति जारी गरी आक्रोश पोखेको छ । ‘नेपाल शिक्षक महासंघमा आवद्ध केही संगठनहरु नीजि राजनीतिक स्वार्थ परिपूर्ति गर्न महासंघसंग कुनै सल्लाह र समन्वय नगरी एकलौटी ढंगले बस्तुगत धरातल भन्दा बाहिर गई मनोगत ढंगले विज्ञप्ति निकाल्ने तथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने जस्ता कार्यप्रति शिक्षक संघ, नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, नगर समितिका अध्यक्ष नन्दकुमार श्रेष्ठ र सचिव दीपक भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता नाजायज काम हुँदा पनि शिक्षक महासंघ टुलुटुलु हेरी बस्ने, महासंघका अध्यक्षले उक्त आन्दोलनका कार्यक्रम सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जस्ता कार्यप्रति संघ गम्भीर आपत्ति प्रकट गर्दछ ।

महासंघसंवद्ध संगठनहरुद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु आगामि तीनदिनभित्र फिर्ता लिने वातावरण महासंघले नबनाएमा नेपाल शिक्षक संघ महासंघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बाध्य हुनेछ ।’
यसबाट सिर्जना हुने जटिल परिस्थितिको सामना गर्न संघले महासंघलाई चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्