| सोमवार, कार्तिक २३, २०८३

शैक्षिक बेथिति बढेको भन्दै दुई शिक्षक संगठन आन्दोलित

नेकपा निकट शिक्षक संगठनले गोरखा नगरपालिका भित्र भएको शैक्षिक बेथितिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्टिूय शिक्षक संगठनले संयुक्त रुपमा जेठ २६ देखि असार १ गतेसम्म आन्दोलन का कार्यक्रम घोषणा गरेको हो । दुबै संगठनले आइतबार संयुक्त रुपमा आफ्ना मागपत्र र विरोधका कार्यक्रम गोरखा नगरपालिकाको शिक्षा शाखामा बुझाएको छ ।


आन्दोलनका कार्यक्रम अन्तरगत जेठ २७ र २८ गते आन्दोलनका बारेमा प्रचारप्रसार गर्ने, जेठ २९ गते शिक्षकले हातमा कालोपट्टी बाँधेर पढाउने, जेठ ३० गते पहिलो घन्टी पेन डाउन गर्ने, जेठ ३१ गते शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिने तय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । गत २३ गते विभिन्न माग सहित गोरखा नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएपनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाई छ ।

दुबै संगठनले नगर शिक्षा समिति समावेशी बनाउन, समितिमा सामुदायिक विद्यालयलाई अपनत्व हुनेगरी शिक्षकका बैधानिक पेशागत संगठनका प्रतिनिधिलाई सहभागी गराउन, विद्यालय ब्यबस्थापन समितिलाई पूर्ण र अधिकारसम्पन्न बनाउन, चाकडी र चाप्सुलीका आधारमा नभई शैक्षिक विकासमा पर्याप्त बजेट बिनियोजन गर्न, स्रोतब्यक्तिलाई विद्यालयमा फर्काउन, प्रधानाध्यापक र शिक्षक नियुक्तिलाई कार्यकर्ता भर्ति केन्द्रका रुपमा नलिन माग गरेका छन् । साथै , कानुन विपरीत भएका शिक्षकको सरुवा फिर्ता गर्न, आस्थाका आधारमा शिक्षक नियुक्ती बन्द गरी जेठ महिनामा लिएको करार शिक्षकको परिक्षा रद्ध गरी पुन छनौट गर्न पनि दुबै संगठनले माग गरेका छन् । यी मागहरु सम्बोधन नभए असार १ गते दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले बताए ।

नगर शिक्षा कार्यालय, नगर शिक्षा समिति र नगरपालिकाको हुकुमी शैलीविरुद्ध आन्दोलन गर्न बाध्य भएको नेपाल राष्टिूय शिक्षक संगठनका कार्यवाहक अध्यक्ष सुस्कर ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्