
ठाटीटारमा पशु स्वास्थ्य शिविर
पालुङटार नगरपालिका ७ को ठाँटीटारमा पशु स्वास्थ्य शिविर भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजनामा भएको शिविरमा तिन हजार दुई सय छ पशुपंक्षीको जाँच गरिएको छ । शिविरमा एक सय ७७ घरधुरीले आफुले पालेको पशुपंक्षी जाँचका लागि ल्याएका थिए ।
जाँचका क्रममा गाई तथा भैसीमा नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, किर्ना, उपिया लगायतका स्वास्थ्य समस्या धेरै पाईएको केन्द्रका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले जानकारी दिए । कुखुरामा दाना पानी नखाने, झोक्राउने लगायतका समस्या रहेको उनले बताए । शिविरमा प्रजनन रोग सम्बन्धी उपचार पनि गरिएको छ । सोही अबसरमा कामधेनु गाई फार्मका ३५० गाईलाई खोरेत रोग विरुद्धको खोप लगाएको प्रमुख ठाकुरले जानकारी दिए ।
शिविरमा चितवनको रामपुर कृषि क्याम्पसका डाक्टर खिमानन्द खनाल, केन्द्रका प्रमुख ठाकुर, डाक्टर जिवन पोख्रेल, पालुङटार नगरपालिका पशु सेवा शाखाका गेविन्द श्रेष्ठ, गोरखा नगरपालिका पशु सेवा शाखाकी सरुना पोख्रेल, पशु प्राबिधिक गणेश कुमाल लगायतको १४ जनाको समुहले सेवा दिएको थियो । वडा अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा शिविर भएको हो ।




