
अर्कुल गाउँका सबै घरमा खानेपानी सुविधा
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ को अर्कुल गाउँका सबै घरमा खानेपानी सुविधा पुगेको छ ।
स्थानीय अर्कुल खानेपानी आयोजनाको निर्माण पूरा भएपछि गाउँका सबै घरमा खानेपानीको सुविधा पुगेको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको वजेटमा खानेपानी आयोजना निर्माण गरिएको हो ।
आयोजना सम्पन्न गर्न ५५ लाख ४९ हजार रुपैया खर्च भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
जसमा उपभोक्ताले १० लाख ६९ हजार लागत सहभागिता गरेका थिए । गत पुसबाट निर्माण सुरु भएको आयोजनाको काम चारमहिनामै सकिएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । आयोजनाबाट ४५ घरधुरीका करीब दुई सय २५ उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तुल्सी वस्नेतले जानकारी दिए ।




