| शुक्रबार, जेष्ठ २८, २०८३

महालेखाको सुझाव लत्याउँदै गोरखाका पालिकाहरु,एकलाखभन्दा कम बजेटका सयौं योजना

प्रतीक्षा आले

महालेखा परीक्षकको कार्यालयले वर्षौदेखि साना तथा टुक्रे योजनाहरु संचालन नगर्न स्थानीय तहहरुलाई सुझाव दिँदै आएको छ । दीर्घकालीन उपलब्धी नहुने भन्दै महालेखाले एकलाखभन्दा कम बजेटका साना तथा टुक्रे कार्यक्रम संचालन नगर्न स्थानीय तहहरुलाई बारम्बार सुझाव दिएपनि बेवास्ता गर्दै गल्ती दोहोर्याइरहेको पाइएको हो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले योजना बनाउँदा सहभागितामूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त हुने योजना छनौट गरी प्राथमिकिकरण गर्नुपर्ने उल्लेख छ । तर गोरखाका पालिकाहरुले भने महालेखाको सुझाव बिपरीत एक लाख मुनिका साना तथा टुक्रे योजनाहरु संचालन गर्दै आएका छन् । सबैभन्दा धेरै गोरखाको पालुङटार नगरपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा एक लाखभन्दा कम बजेटका ६० वटा साना तथा टुक्रे योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसबापत पालिकाले ५८ लाख रुपैँया खर्च गरेको छ ।

यस्ता किसिमका साना योजनाहरु दीर्घकालिन नहुने भन्दै महालेखाले दीर्घकालिन प्रकृतिका ठूला योजना छनोट गर्न पालिकालाई सुझाव दिएको छ । आव २०८१/०८२ मा पालुङटारले एकलाखदेखि पाँचलाख सम्मका ३५० वटा योजनाहरु संचालन गरेको छ । यी योजना बापत पालिकाले ११ करोड रुपैँया खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पालिकाले पाँच लाखदेखि १० लाखसम्मका ७४ वटा, १० लाखदेखि ५० लाखसम्मका आठवटा तथा ५० लाख माथिका १३ वटा योजनाहरु संचालन गरेको थियो ।

सिरानचोक गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिका ५४ योजनाहरु संचालन गरेको महालेखाले जनाएको छ । जसबापत मात्र पालिकाले ३७ लाख रुपैँया खर्च गर्यो । यस्तै, पालिकाले एकलाखदेखि पाँच लाखसम्मका १८२ वटा योजनाहरु संचालन गरेको उल्लेख छ । जसबापत पालिकाले दुई करोड ८० लाख रुपैँया खर्च गरेको थियो ।

सिरानचोकले पाँच लाखदेखि १० लाखसम्मका ३९ वटा, १० लाखदेखि ५० लाखसम्मका १३ वटा तथा ५० लाख माथिका जम्मा ३ वटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यसरी सिरानचोक गाउँपालिका पनि दीर्घकालिन प्रकृतिका योजनाहरुमा न्यून र अदीर्घकालिन योजनाहरुमा अधिक खर्च गरेको देखिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले आव २०८१/०८२ मा एक लाख मुनिका सातवटा साना तथा टुक्रे योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसबापत पालिकाले चारलाख ५ हजार रुपैँया खर्च गरेको छ । यस्तै, पालिकाले एकलाखदेखि तीनलाख सम्मका ७२ वटा योजनाहरु संचालन गरेको पाइएको छ । यस्ता साना योजनाहरुमा पालिकाले एककरोड ३४ लाख रुपैँया खर्च गरेको हो । यसैगरी, साना तथा टुक्रे योजनाहरु अन्तरगत पर्ने तीनलाखदेखि पाँचलाख सम्मको ८१ वटा योजनामा गाउँपालिकाले दुईकरोड ७३ लाख रुपैँया खर्च गरेको महालेखाले जनाएको छ ।

बारपाकसुलिकोटले आफ्नो अधिकांश बजेट दीर्घकालिन नहुने साना योजनाहरुमा खर्च गरेको महालेखाको ठहर छ ।
पालिकाले आव २०८१/०८२ मा पाँच लाखदेखि १० लाखसम्मका १४ वटा, १० लाखदेखि २५ लाखसम्मका १० वटा तथा २५ लाख माथिका जम्मा पाँचवटा योजनाहरु संचालन गरेको थियो । अजिरकोट गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिका पाँच वटा योजनाहरु संचालन गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । पालिकाले एकलाखदेखि पाँचलाखसम्मका ७१ वटा योजनाहरु संचालन गरेको बताइएको छ । जसबापत दुईकरोड १७ लाख रुपैँया खर्च भएको थियो ।अजिरकोटले पाँच लाखदेखि १० लाखसम्मका २७ वटा, १० लाखदेखि ५० लाखसम्मका ११ वटा तथा ५० लाख माथिका आठवटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आरुघाट गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिका १४ वटा योजनाहरु संचालन गरेबापत सातलाख ५२ हजार खर्च गरेको छ । यस्तै, एकलाखदेखि तीनलाखसम्मका १३६ वटा योजनाहरु संचालन गरेर दुईकरोड १७ लाख रुपैँया बजेट खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले तीनदेखि पाँचलाख बजेटका ५३ वटा योजनाहरु संचालन गरेर एककरोड ८७ लाख खर्च गरेको उल्लेख छ । आरुघाटले आव २०८१/०८२ मा पाँच लाखदेखि १० लाखसम्मका ३६ वटा, १० लाखदेखि २५ लाखसम्मका १६ वटा तथा २५ लाख माथिका जम्मा ६ वटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिका तीनवटा योजनाहरु संचालन गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्याकंले देखाएको छ । सो आर्थिक वर्ष पालिकाले एकलाखदेखि तीनलाखसम्मका भने ६० वटा योजनाहरु संचालन गरेको देखिएको छ । जसबापत एककरोड दुईलाख रुपैँया खर्च भएको छ । यस्तै, तीनदेखि पाँचलाखसम्मका ३५ वटा योजना संचालन गरेबापत पालिकाले रु एककरोड २५ लाख खर्च गरेको छ । गण्डकी गाउँपालिकाले आव २०८१/०८२ मा पाँच लाखदेखि १० लाखसम्मका २८ वटा, १० लाखदेखि २५ लाखसम्मका ९ वटा तथा २५ लाख माथिका १७ वटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उत्तरी गोरको चुमनुब्री गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिको एउटा योजना मात्र संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले एकलाखदेखि पाँचलाख सम्मका योजनाहरु संचालन गरेबापत एककरोड रुपैँया खर्च गरेको छ । यस्तै पालिकाले पाँच लाखदेखि १० लाखसम्मका ४२ वटा, १० लाखदेखि ५० लाखसम्मका २२ वटा तथा ५० लाख माथिका जम्मा चार वटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

धार्चे गाउँपालिकाले पनि योजना प्राथमिकिकरणमा ध्यान नदिएको महालेखाको भनाई छ । पालिकाले आव २०८१/०८२ मा पाँचलाख भन्दा कम बजेटको एकसय नौँ वटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले पाँचलाखदेखि २० लाखसम्ममा ४८ र २० लाखभन्दा माथिका १० वटा योजनाहरु संचालन गरेको उल्लेख छ ।

जिल्लाको भिमसेनथापा गाउँपालिकाले आव २०८१/०८२ मा एकलाख मुनिका तीनवटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पालिकाले एकलाखदेखि तीनलाखसम्मका १२७ वटा साना योजनाहरु संचालन गरेको देखिएको छ । जसबापत दुईकरोड २३ लाख ७० हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । भिमसेनथापाले तीनदेखि पाँचलाखसम्मका १८ वटा योजनाहरु संचालन गरेर रु ८२ लाख ४० हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले पालिकालाई योजना बनाउँदा साना तथा टुक्रे योजनाहरु नभई मध्यम तथा दीर्घकालिन प्रकृतिका योजनाहरु बनाउन सुझाव दिएको छ ।

भिमसेनथापा गाउँपालिकाले आव २०८१/०८२ मा पाँच लाखदेखि १० लाखसम्मका आठवटा, १० लाखदेखि २५ लाखसम्मका आठवटा योजनाहरु संचालन गरेको र २५ लाख माथिका योजनाहरु भने संचालन नल्याएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

सहिदलखन गाउँपािलकाले भने आव २०८१/०८२ मा एकलाखदेखि पाँचलाखसम्मका दुईसय दुईवटा योजनाहरु संचालन गरेको महालेखाले जनाएको छ । जुन अत्याधिक धेरै हो । उक्त साना योजनाहरु संचालन गरेबापत पालिकाले तीनकरोड ४१ लाख रुपैँया खर्च गरेको छ ।

यस्तै, पालिकाले पाँच लाखदेखि १० लाखसम्मका ३१ वटा र १० लाखदेखि ५० लाखसम्मका जम्मा दुईवटा योजनाहरु संचालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्