| बुधबार, जेष्ठ २६, २०८३

गोरखाका पालिकाहरुलाई वित्तीय हस्तान्तरण, दुई पालिकालाई समपूरक र विशेष शीर्षकमा शून्य अनुदान कुन पालिकालाई कति हस्तान्तरण

नेपाल सरकार अर्थमन्त्रालयले गोरखाका ११ पालिकालाई विभिन्न शीर्षकमा वित्तीय हस्तान्तरण गरेको छ । मन्त्रालयले समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा वित्तीय हस्तान्तरण गरेको हो ।
मन्त्रालयले समानिकरण अनुदान शीर्षकको बजेट स्थानीय तहको खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमताको आधारमा दिनेगर्छ ।

त्यस्तै सशर्त अनुदान कुनै खास योजना, कार्यक्रम वा परियोजना तोकेर पठाइने अनुदान हो । सङ्घीय सरकारले तोकेका सर्तहरू पूरा गर्ने गरी मात्र यो रकम खर्च गर्न पाइन्छ । यदि तोकिएको काममा खर्च हुन सकेन भने यो रकम सङ्घीय कोषमै फिर्ता हुन्छ ।
समपुरक अनुदान कुनै ठूला पूर्वाधार वा विकास निर्माणका आयोजना सञ्चालन गर्न पालिका सरकारले पनि साझेदारी गर्ने गरी दिने गर्छ । यसमा लागतको निश्चित प्रतिशत सङ्घीय सरकारले बेहोर्छ भने बाँकी प्रतिशत सम्बन्धित स्थानीय तहले बेहोर्ने गर्छ ।
विशेष अनुदान कुनै विशेष परिस्थिति, क्षेत्र वा उद्देश्यका लागि प्रदान गरिन्छ । यो मुख्यगरी उत्पादनशील र वित्तीय प्रतिफल दिने आयोजनाहरूका लागि दिइन्छ ।

गोरखा नगरपालिकालाई मन्त्रालयले ६५ करोड ३७ लाख वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा २१ करोड २४ लाख, सशर्त अनुदान शीर्षकमा ३९ करोड ४ लाख, समपुरक अनुदान शीर्षकमा १ करोड ८० लाख, विशेष अनुदानमा २ करोड ५९ लाख हस्तान्तरण गरेको हो ।

पालुङटार नगरपालिकालाई मन्त्रालयले ५४ करोड ४ लाख वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १६ करोड ९७ लाख, सशर्त अनुदान शीर्षकमा ३७ करोड ७ लाख हस्तान्तरण गरेको छ । समपुरक अनुदान शीर्षकमा शून्य, विशेष अनुदान शीर्षकमा पनि शून्य बजेट हस्तान्तरण गरेको हो ।

त्यस्तै सिरानचोक गाउँपालिकालाई मन्त्रालयले ४८ करोड ५७ लाख वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १३ करोड ९ लाख, सशर्त अनुदान शीर्षकमा ३२ करोड ९० लाख, समपुरक अनुदान शीर्षकमा ८३ लाख र विशेष अनुदानमा १ करोड ५७ लाख हस्तान्तरण गरेको हो ।

त्यस्तै अजिरकोट गाउँपालिकालाई मन्त्रालयले ३२ करोड १६ लाख वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १० करोड ८४ लाख, सशर्त अनुदान शीर्षकमा १९ करोड ७ लाख, समपुरक अनुदान शीर्षकमा १ करोड ४० लाख र विशेष अनुदानमा ८५ लाख हस्तान्तरण गरेको हो ।

बारपाक सुलिकोट गाउँपालिकालाई मन्त्रालयले ४४ करोड ७४ लाख वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १३ करोड ८७ लाख, सशर्त अनुदान शीर्षकमा २७ करोड ७८ लाख, समपुरक अनुदान शीर्षकमा १ करोड र विशेष अनुदान शीर्षकमा २ करोड ९ लाख हस्तान्तरण गरेको हो ।

धार्चे गाउँपालिकालाई मन्त्रालयले कूल ३० करोड ९२ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १० करोड ६७ लाख, सशर्त अनुदान शीर्षकमा १८ करोड ४६ लाख, समपुरक अनुदान शीर्षकमा ९९ लाख र विशेष अनुदान शीर्षकमा ८० लाख बजेट हस्तान्तरण गरेको हो ।

चुमनुब्री गाउँपालिकालाई मन्त्रालयले कूल २१ करोड १० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा ८ करोड ७७ लाख, सशर्त अनुदान शीर्षकमा १२ करोड ३३ लाख, समपुरक अनुदान शीर्षकमा शून्य र विशेष अनुदानमा पनि शून्य रकम हस्तान्तरण गरेको हो ।

आरुघाट गाउँपालिकालाई अर्थ मन्त्रालयले कूल ४३ करोड ९० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १२ करोड ९० लाख, सशर्त अनुदान शीर्षकमा २७ करोड २ लाख, समपुरक अनुदान शीर्षकमा २ करोड २३ लाख र विशेष अनुदानमा १ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

भीमसेनथापा गाउँपालिकालाई अर्थमन्त्रालयले कूल ४२ करोड ३२ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १२ करोड ६१ लाख, सशर्त अनुदान शीर्षकमा २७ करोड ८१ लाख, समपुरक अनुदान शीर्षकमा १ करोड ५ लाख र विशेष अनुदानमा ८५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

सहिदलखन गाउँपालिकालाई अर्थमन्त्रालयले कूल ४३ करोड ३८ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १४ करोड ३४ लाख, सशर्त अनुदान शीर्षकमा २६ करोड १४ लाख, समपुरक अनुदान शीर्षकमा एक करोड र विशेष अनुदानमा १ करोड ८८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

र गण्डकी गाउँपालिकालाई अर्थमन्त्रालयले कूल ४३ करोड ९० लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । समानिकरण अनुदान शीर्षकमा १२ करोड ९० लाख, सशर्त अनुदान शीर्षकमा २७ करोड २ लाख, समपुरक अनुदान शीर्षकमा २ करोड २३ लाख र विशेष अनुदानमा १ करोड ७५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्