| बुधबार, जेष्ठ १९, २०८३

सबै पालिका बालमैत्री बनुन्

आजका बालबालिका भोलि देश बोक्ने संवाहक हुन् । आज उनीहरुको चौतर्फी विकास भयो भने उनीहरु भोलि(भविष्यमा) सक्षम तथा सशक्त युवा बन्नेछन् त्यसैले बालबालिकालाई हरेक हिसाबले सक्षम बनाउन सबै निकाय उद्धत हुनुपर्दछ । बालबालिकालाई सक्षम बनाउन उनीहरुमा पोषण, शिक्षा, स्वास्थ्य, चेतना, प्रतिभालगायतका पूर्वाधारले युक्त बनाउनु पर्दछ । पालुङटार नगरपालिका अहिले बालमैत्री नगरपालिका बन्ने चरणमा छ । बालअधिकार, बाल संरक्षण, बाल बचाउ तथा बाल विकास जस्ता आधारभूत मापदण्ड पूरा गर्दै पालुङटार अहिले बालमैत्री नगरपालिका बन्न लागेको हो ।

बालमैत्री नगरपालिका बन्न बालमैत्री घर, बालमैत्री विद्यालय, बालमैत्री सार्वजनिक स्थल, बालमैत्री नीति निर्माण गरेर बालमैत्रीवडा तथा बालमैत्री पालिका बन्नुपर्ने हुन्छ । अहिले पालुङटार बालमैत्री नगरपालिका बन्न विभिन्न सूचकहरु पूरा गर्ने क्रममा छ । धमाधम सर्वपक्षीय भेला, सर्वपक्षीय गोष्टीहरु पनि गरेको छ । पालुङ्टार नगरपालिकाको यो सूचकहरु पूरा गर्दै अघि बढिरहेको छ । यसमा उसलाई सफलताको शुभकामना । अनि अरु पालिकाहरुले पनि पालुङटारले जस्तै बालमैत्री पालिका बन्ने बाटोमा अघि बढुन् ।

बालमैत्री स्थानीय शासनको मुख्य मर्म नै बालबालिकाको अर्थपूर्ण सहभागिता र उनीहरूको सर्वोत्तम हितको रक्षा गर्नु हो । पालुङटार नगरपालिकाले निर्धारित सूचकहरू पूरा गर्दै बालमैत्री घोषणाको लक्ष्य हासिल गरोस् र यो घोषणा कागजी दस्ताबेजमा मात्र सीमित नभई दिगो अभ्यास बनोस् । पालुङटारको यो सुखद यात्रा केवल एउटा पालिकाको मात्र सफलता बन्नु हुँदैन । यसले जिल्लाभरि र देशभरिका अन्य पालिकाहरूका लागि पनि एउटा उत्कृष्ट मोडेल र प्रेरणाको रूपमा काम गर्नुपर्छ ।

अब देशका अन्य स्थानीय पालिकाहरूले पनि आ(आफ्नो क्षेत्रमा बालअधिकार र बाल विकासका सूचकहरूलाई प्राथमिकतामा राख्दै पालुङटारकै जस्तो बालमैत्री बन्ने बाटोमा पाइला चाल्न ढिला गर्नु हुँदैन । किनकि, आज बालबालिकामाथि गरिने लगानी नै भोलिको समृद्ध नेपालको सबैभन्दा बलियो जग हो ।

प्रतिक्रिया दिनुहोस्