
शक्तिचोकदेखि नगरपालिका चोकसम्म सडक स्तरोन्नतिको काम सुरु
गोरखा नगरपालिकाले शक्तिचोकदेखि नगरपालिका चोकसम्मको सडक स्तरोन्नतिको काम सुरु गरेको छ । पालिकाको बहुबर्षे कार्यक्रम अन्तर्गत शक्तिचोकको तीनधारे खोलामा कल्भर्ट निर्माण, बिसौनी मोडमा फुटपाथ निर्माण तथा हरमटारीचोकदेखि नगरपालिका चोकसम्मको सडक चौडा तथा स्तरोन्नतिको काम सुरु गर्न सुरु गरेको हो ।
सो कामका लागि निर्माण कम्पनी छनौट गरी काम गर्न पनि सुरु गरिएको नगरपालिकाका इञ्जिनियर प्रकास ढकालले जानकारी दिए । ‘पहिलो प्याकेजमा हरमटारीचोकदेखि नगरपालिका चोकसम्मको सडक केन्द्रबाट दायाँबायाँ आठ–आठ मिटर चौडा बढाउने(फराकिलो पार्ने) काम हुन्छ । त्यही खण्डको हरमटारीचोकदेखि रंगशालाचोकसम्मको दायाँबायाँ थप दुई–दुई मिटर पार्किङ एरिया बनाउँछौं’, इञ्जिनियर ढकालले भने, ‘हरमटारीचोकदेखि नगरपालिका चोकसम्म नाला व्यवस्थापन र फुटपाथ निर्माणको काम पनि हुनेछ ।’ सो सडकमा पहिलो चरणमा कालोपत्रेको कार्यक्रम भने नरहेको उनको भनाइ छ ।
सो सडक कालोपत्रेका लागि नगरपालिकाले संघीय मन्त्रालयबाट बजेट तथा कार्यक्रम पार्न पहल गर्ने र यदि संघीय कार्यक्रममा पार्न नसकिए आउँदो आर्थिक बर्ष नगरपालिकाकै दोस्रो चरणको कार्यक्रममा कालोपत्रे गर्ने नगरपालिकाले जनाएको छ ।
यही ठेक्काअन्तर्गत शक्तिचोकमा कल्भर्ट निर्माण र बिसौनीमोडको दुवैतर्फ फुटपाथ निर्माणको काम पनि हुने उनले बताए ।
यो काम सात करोडमा सम्पन्न गर्न अमृत कन्स्ट्रक्शन, आरके कन्स्ट्रक्शन र युनिक कन्स्ट्रक्शन ज्वाइण्ट भेञ्चरले गोरखा नगरपालिकासंग सम्झौता गरेको छ । आउँदो २०८४ सालको असोज १६ गतेभित्र काम सम्पन्न गर्नेगरी जेभीले गत चैतको २०८२ चैत १६ गते ठेक्का सम्झौता भएको नगरपालिको जनाएको छ । ‘खाडी युद्धका कारण इन्धनको मूल्य आकाशिएकाले केही समय काम सुरु नभएका हो’, ढकालले भने, ‘अहिले पेट्रोलपम्प क्षेत्रबाट काम सुरु भएको छ ।’
तर यो चरणमा शक्तिचोक सडक र कालीमाटी टोलकोको सडकमा भने केही काम नहुने इञ्जिनियर ढकालले बताए । यी दुई टोलको सडक स्तरोन्नति, फुटपाथ र नाला निर्माणको काम आउँदो आर्थिक बर्षको बजेट तथा कार्यक्रममा पार्ने इञ्जिनियर ढकालले बताए ।




