
उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरी महिलाकाे हेलिकोप्टरबाट उद्धार
शिव उप्रेती
गोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका २ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो पकार प्रसुतीगृह पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
२४ बर्षकी बिकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (ईक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए ।
बिक १३ दिन अघि सुत्केरी भएकी थिइन् तर बुधबार बिहान एक्कासी बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए ।
‘यो अबस्थामा तत्काल आईसियूमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउसो २ बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौं पुर्याइएको हो’, उनले भने, ‘अहिले सुत्केरी महिलाको अबस्था गम्भीर नै छ । केरौंजा स्वास्थ्य चौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौं ।’




