| सोमवार, जेष्ठ १०, २०८३

पालिकाको नीति तथा कार्यक्रम लेखाजोखा गर्न ‘विज्ञ सभा’

जिल्लाको सिरानचोक गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र योजनाहरु लेखाजोखा गर्नका लागि विज्ञ सभा आयोजना गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको पूर्वसन्ध्यामा विज्ञ सभा आयोजना गरेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए ।

सिरानचोक गाउँपालिका विज्ञ सभाको यो दोस्रो संस्करण हो । गत शुक्रबारबाट सुरु भएको विज्ञ सभा आइतबारसम्म संचालन हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

‘पालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम निर्माणलाई लक्षित गरेर विज्ञ सभा आयोजना गरेको हो’, उनले भने, ‘सभामा विभिन्न विषयका विज्ञहरु, गाउँपालिका स्थाई घर भई विभिन्न क्षेत्रमा क्रियाशील पालिकाबासी, गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरु बीच आगामी आवको लक्ष्य, योजना र पालिकाले गर्नुपर्ने कामकारबाहीको विषयमा छलफल हुन्छ ।’ विज्ञ सभामा पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा संचालन गरेको विभिन्न योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत तथा योजनाहरुको लेखाजोखा भएको अध्यक्ष गुरुङले बताए ।

पालिकाले विज्ञ सभाको अवधिभर प्रत्यक दिन विभिन्न क्षेत्रको विषयगत विज्ञहरुसँग अन्तरक्रिया, सो विषयमा पालिकाले संचालन गरेका कार्यक्रमहरुको प्रस्तुती, उक्त कार्यक्रमको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, पूर्वधार, कृषि, पशु, सहकारी लगायतको विषयमा विधिन्न विषयगत समिति गठन गरेर विषय विज्ञको उपस्थितिमा प्यानल डिस्कसन समेत भएको पालिकाले जनाएको छ ।

‘कार्यक्रममा पालिकाको विभिन्न शाखाका कर्मचारीहरुले आफ्नो विषयगत शाखा अन्तरगत पालिकामा संचालन भएका कार्यक्रमहरुको विषयमा प्रस्तुतीकरण गर्नुहुन्छ’, पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने, ‘प्रस्तुतीकरण पछि प्यानल डिस्कसनमा विज्ञहरुको टिकाटिप्पणी, छलफल तथा सल्लाहसुझाव संकलन गर्छौ । पालिकाबासी तथा विज्ञहरुको सल्लाहसुझावलाई आत्मसाथ गरेर गाउँपालिकाले भावी मार्गदर्शन बनाउँछ ।’

आगामी वर्षको नीति, कार्यक्रम तथा योजना निर्माण तथा पालिकाले विगतका वर्षहरुमा संचालन गरेको योजनाको लेखाजोखा गर्ने मुख्य उद्देश्यसहित सिरानचोक गाउँपालिका विज्ञ सभा आयोजना गरेको पालिका अध्यक्ष लक्ष्मण गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्