
बेरुजु घटाउँदै गोरखाका अधिकांश पालिकाहरु, केहीको बढ्यो
प्रतिक्षा आले
जिल्लाका अधिकांश पालिकाहरुको बेरुजु विगतका वर्षहरुको तुलनामा घटेको छ । महालेखा परिक्षकको कार्यालयले यही जेठ २ गते सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश पालिकाहरुले विगतको तुलनामा बेरुजु घटाएका हुन् । केही पालिकाको बेरुजु भने बढेको पाइएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को बेरुजु एक करोड ९३ लाख रुपैँया रहेको थियो । जुन कुल बजेटको ०.९४ प्रतिशत हो ।
गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१।०८२ मा बेरुजु रकम घटाएको छ । गत आव २०८१।०८२ मा गोनपाको बेरुजु ०.६२ प्रतिशत अर्थात एक करोड २९ लाख रुपैँया रहेको छ ।
पालुङटार नगरपालिकाले पनि आफ्नो बेरुजु रकम केही घटाएको छ । आर्थिक वर्ष २०८०।०८१ मा पाँच करोड ३५ लाख रुपैँया रहेको पालुङटारको बेरुजु रकम गत आर्थिक वर्ष २०८१।०८२ मा घटेर चार करोड १७ लाख कायम भएको हो । यद्यपि पालिकाको बेरुजु प्रतिशत भने केही बढेको छ । आर्थिक वर्ष २०८०।०८१ मा २.५७ प्रतिशत बजेट बेरुजु देखिएको पालुङटार नगरपालिकाको आव २०८१।०८२ मा बढेर २.९४ प्रतिशत बजेट बेरुजु देखिएको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा जिल्लाको ११ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै बेरुजु बारपाक सुलिकोट गाउँपालिकाको थियो । उक्त आवमा कुल बजेटको २.५८ प्रतिशत अर्थात तीन करोड ७२ लाख रुपैँया बेरुजु देखिएको बारपाकसुलिकोटको गत वर्षको बेरुजु रकम उल्लेखनीय रुपमा घटेको छ ।
गत आर्थिक वर्ष २०८१।०८२ मा पालिकाको कुल बजेटको ०.३९ प्रतिशत अर्थात ४४ लाख ५२ हजार रुपैँया बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०८०।०८१ मा एक करोड ८८ लाख बेरुजु देखिएको सहिदलखन गाउँपालिकाको गत आर्थिक वर्षको २०८१।०८२ मा घटेर ६४ लाख १३ हजार पुगेको छ ।
गण्डकी गाउँपालिकाले पनि आफ्नो बेरुजु रकम विगतको तुलनामा घटाएको छ । आर्थिक वर्ष २०८०।०८१ मा पालिकाको कुल बजेटको १.६८ प्रतिशत अर्थात एक करोड ४३ लाख रुपैँया रकम बेरुजु देखिएको गण्डकीको आर्थिक वर्ष २०८१।०८२ मा केही घटेको छ ।
पालिकाले आर्थिक वर्ष २०८१।०८२ मा कुल बजेटको ०.९१ प्रतिशत अर्थात एक करोड एक लाख रुपैँया नियम बिपरीत खर्च गरेको हो । भिमसेनथापा र आरुघाट गाउँपालिकाको बेरुजुमा पनि उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०८०।०८१ मा दुई करोड २७ लाख रुपैँया बेरुजु देखिएको भिमसेनथापाको आर्थिक वर्ष २०८१।०८२ मा घटेर ४३ लाख ३३ हजार देखिएको छ ।
यस्तै, आर्थिक वर्ष २०८०।०८१ मा आरुघाट गाउँपालिकाको बेरुजु एक करोड १२ लाख रहेकोमा आर्थिक वर्ष २०८०।०८१ मा जम्मा ८२ लाख रकम बेरुजु देखिएको छ । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाको बेरुजु रकम भने बढेको पाइएको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा कुल बजेटको ०.५५ प्रतिशत अर्थात ५२ लाख २६ हजार रुपैँया बेरुजु देखिएको धार्चे गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ मा बढेर ०.६ प्रतिशत अर्थात ५७ लाख २३ हजार पुगेको छ । आर्थिक वर्ष २०८०।०८१ मा तीन लाख ४२ हजार रुपैँया बजेट बेरुजु देखिएको चुमनुब्री गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को बेरुजु २५ लाख ९४ हजार रहेको छ ।
सिरानचोक र अजिरकोट गाउँपालिकाको बेरुजु रकम पनि केही हदसम्म बढेको पाइएको छ । आर्थिक वर्ष २०८०।०८१ मा सिरानचोक गाउँपालिकाले पालिकाको कुल बजेटअन्तरगत खर्च गरेको १.४४ प्रतिशत रकम अर्थात एक करोड ५१ लाख रुपैँया बेरुजु देखिएको थियो । आर्थिक वर्ष २०८१।०८२ मा पालिकाले कुल बजेटअन्तरगत खर्च गरेको २.३६ प्रतिशत रकम अर्थात दुई करोड ५६ लाख रुपैँया बेरुजु देखिएको छ ।
अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को बेरुजु एक करोड १८ लाख रहेको थियो भने उक्त रकम आर्थिक वर्ष २०८१।०८२ मा बढेर एक करोड ३८ लाख पुगेको छ ।




