
एसपी बिकको एक बर्षे उपलब्धी: हिरासत कक्ष सुधारदेखि चौकीको नयाँ भवन निर्माणसम्म
जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी भरतबहादुर बिकको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा सरुवा भएका उनले अघिल्लो बर्षको बैशाख २६ गते जिल्ला प्रहरी प्रमुखको नेतृत्व सम्हालेका थिए । एक बर्षको अवधिमा जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै कसर बाँकी नराखेको उनले बताए । अपराध नियन्त्रणमा पनि आफू अग्रसर रहेको उनले जानकारी दिए ।
एक बर्षे कार्यकालको समिक्षा गर्दै उनले जेनजी आन्दोलन र प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा हुनुलाई महत्वपूर्ण उपलब्धी मानेका छन् । कार्यालयको हिरासत कक्षलाई थप आधुनिकिकरण तथा सुदृढिकरण गरी नेपालकै उत्कृष्ट हिरासत कक्ष बनाएको उनको दावी छ ।
‘इलाका प्रहरी कार्यालय मनकामनाको अतिक्रमण भएको जग्गा फिर्ता ल्याएर घेराबार लगायौँ,’ उनले भने, ‘उक्त इप्रकामा प्रहरी निरीक्षकको नेतृत्व रहने गरी स्तरवृद्धि गर्न आवश्यक लेखापढी गरी गृहमन्त्रालयमा पत्राचार समेत गरेका छौँ ।’
सौरपानी प्रहरी चौकीलाई पक्की भवनमा स्थानान्तरण गरिएको, आर्खेत चौकीको नयाँ भवन निर्माण भएको र भीड नियन्त्रणमा आवश्यक व्यारिकेट आफ्नै कार्यकालमा तयार पारिएको उनले जानकारी दिए । अघिल्ला बर्षभन्दा गत आव नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने सवारी कारवाही संख्या बढेको उनले बताए ।
उनका अनुसार एक बर्षको अवधिमा १ सय २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट कुल ५४ बर्ष ११ महिना १ दिन कैद र ८१ लाख १५ हजार ११६ रुपैया जरिवाना असुल उपरका लागि जिल्ला अदालत पठाइएको एसपी बिकले जानकारी दिए ।




