| बिहिबार, बैशाख ३०, २०८३

४ जिपिए ल्याउन न सहरमाहुनुपर्छ, न बोर्डिङ पढ्नु पर्छ

यो बर्षको एसईई नतिजा गोरखाको औसत नै रह्यो । नतिजाको विश्लेषण गर्दा पालुङ्टारको सबैभन्दा राम्रो नतिजा देखियो भने बारपाक सुलिकोटको तुलनात्मक रुपमा पछाडि परेको देखियो । भीमसेनथापा गाउँपालिकाले भने संस्लेषित नतिजा सार्वजनिक गरेन । बारपाक सुलिकोटका एक बालक युनिक पनेरुले उ्रत्कृष्ट नतिजा ल्याए ।

जिल्लाबाट जम्मा दुई जनाले ४ जिपिए ल्याएकामध्य एकजना वल्डक्यापिटल बोर्डिङ स्कूल र अर्का बारपाक सुलिकोट ८ गैरीछापका १४ बर्षका पनेरु हुन । शैलपुत्री मावि पाँचखुवा देउरालीको विद्यालयमा शिशु कक्षादेखि पढेका उनले गाउँले वातावरणमै रहेर पनि ४ जिपिए ल्याउन सफल भए ।

घरबाट उनलाई विद्यालय पुग्न एक घण्टा हिड्नु पर्दथ्यो । तैपनि उनले दुख गरेर पढेर जिल्लाकै उत्कृष्ट नतिजा ल्याए । यो एक प्रेरणाको कथा हुनसक्छ । यसले उत्कृष्ट नतिजा ल्याउन बोर्डिङ स्कूल नै पढ्न पर्छ, सहरमै जन्मनु पर्छ भन्ने भ्रम तोडेको छ ।
युनिकको यो सफलता केवल एउटा विद्यार्थीको व्यक्तिगत उपलब्धि मात्र होइन ।

यो ती तमाम भ्रमहरू विरुद्धको एउटा बलियो जवाफ पनि हो, जसले उत्कृष्ट नतिजाका लागि महँगा बोर्डिङ स्कूल वा सहरिया सुविधा नै अनिवार्य छ भन्ने मान्यता राख्छन्, घरबाट विद्यालय पुग्न दैनिक एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, ग्रामीण परिवेशको अभाव र सिमित स्रोत साधनका बाबजुद उनले जुन उचाइ हासिल गरे, त्यो आजका पुस्ताका लागि ठूलो प्रेरणाको स्रोत हो । यस नतिजाले दुईवटा मुख्य कुराहरूलाई प्रस्ट पारेको छ।

पहिलो, शिक्षाको गुणस्तर भौतिक चमकधमकमा भन्दा पनि विद्यार्थीको लगाव र शिक्षकको समर्पणमा निर्भर गर्दछ। एउटा दुर्गम गाउँको सामुदायिक विद्यालयले जिल्लाकै सर्वोत्कृष्ट नतिजा दिन सक्नुले सरकारी लगानी र गाउँकै माटोको शिक्षामा विश्वास जगाएको छ। दोस्रो, सफलताका लागि भूगोल बाधक बन्दैन भन्ने तथ्यलाई युनिकले प्रमाणित गरि दिएका छन् । प्रगति गर्न भूगोल र भौतिक पूर्वाधार सम्पन्न विद्यालय नै चाहिन्छ भन्ने होइन भन्ने सन्देश युनिकबाट मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्