| मङ्लबार, कार्तिक २४, २०८३

कस्तो रह्यो, पूर्व राजा ज्ञानेन्द्रको गोरखामा ‘एकदिन’

पूर्वराजा ज्ञानेन्द्र शाहले शाहबंशीय राजतन्त्रको उद्गम स्थल गोरखाको भ्रमण गरेका छन् । २० बर्षपछि पहिलो पटक गोरखा आएका शाहले गोरखकाली र गोरखनाथको पूजाआराधना, स्थानीयबासीसंग भेटघाट तथा स्वागत ग्रहण गरेका छन् ।

देशमा एउटा शक्तिले राजसंस्थाको पुनस्थापना, राजतन्त्रको माग गर्दै विभिन्न कार्यक्रम गरिरहेका बेला गोरखाका राजसंस्था, राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीहरुको आमन्त्रणमा शाहले शनिबार भ्रमणको चाँजोपाँजो मिलाएका हुन् । बिहान नौ बजे तनहूँको आँबुखैरेनीमा स्वागत गरी सो समूहले मोटरसाइकल ¥याली गर्दै गोरखा भित्र्याएका थिए ।

राजावादीहरुको पञ्चैबाजासहितको मोटरसाइल ¥यालीका बीच उनी बिहान १० बजे गोरखादरबार आइपुगेका थिए । त्यहाँ गोरखकाली, गोरखनाथ पूजा आराधना र ऐतिहासिक गोरखा दरबार अवलोकमा दुई घण्टा खर्चेका थिए । त्यहाँ उनलाई तान्त्रिक देव बज्रभैरवका भक्त बज्राचार्य, बज्रयानाहरुबाट विशेष प्रार्थनासहित, टिका, प्रसाद ग्रहण गरेका थिए ।

शनिबार चैत्र कृष्णअस्टमीे गोरखकाली पूजा पर्व परेको थियो । सोही अवसर पारेर पूर्व राजा ज्ञानेन्द्रले भ्रमणको कार्यक्रम तय गरेका हुन् । गोरखकाली र गोरखनाथलाई राजदरबारका कुलदेवता भनेर पनि चिनिन्छ । सो पर्वको अवसर पारेर उनी गोरखकाली तथा गोरखनाथको पूजाआजा गर्न आएका हुन् ।

बिहान १० बजेदेखि १२ बजे दुईघण्टासम्म पूजाआजा गरी दिउसो १ बजे गोरखाबाट फर्किएका छन् ।
उनको स्वागत गर्न गोरखाका राजा, राजसंस्था तथा राजतन्त्रप्रति आस्था राख्ने व्यक्ति, संस्था तथा पार्टीका कार्यकर्ताहरु सम्मिलित १५१ सदस्यीय नागरिक समाज गठन भएको थियो । उनीहरुले बाजागाजासहित ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर्’ लगायतका नारा लगाएका थिए ।


शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेका थिए । शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई सो नागरिक समाजले स्वागत र मोटरसाइकल ¥याली गरी १० बजे गोरखा भित्र्याएका थिए ।

सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका स्वयंसेवक समूहहरुको पनि सहभागिता थियो । सवारीमा पूर्वराजा ज्ञानेन्द्रबाहेक परिबारका सदस्य कोही पनि सहभागी थिएनन् ।

पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखा गोरखा ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए । सो क्रममा उनले सबैको भलोबाहेक कुभलो कसैको चिताउन नहुने प्रतिक्रिया दिएका थिए । ‘गोरखा आउँदा मलाई खुशी लाग्यो’, उनले भने, ‘आफ्नो जन्मथलो नभए पनि गोरखा मेरो पुख्र्यौली थलो हो । यहाँका बासिन्दा देख्दा मलाई खुशी लागेको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउनु पर्दैन । देशमा शान्ति कायम होस् । देशमा विकास होओस् । सबैलाई सुख र संवृद्धि होस् भन्ने कामना गर्दछु ।’ उनले आफू लामो समयपछि गोरखा आएको बताए पनि कतिबर्षपछि यहाँ आएको भनेर एकिन गरेनन् । बहुदलीय प्रजातन्त्रलाई निलम्बन गरी सक्रिय राजतन्त्रको अभ्यास भएका बेला २०६२ सालमा उनी नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन गोरखा आएका थिए ।

शनिबार गोरखा संग्रहालय परिसरभित्र नागरिक स्वागत समाजका संयोजक भगवानदास मल्लले ज्ञापन पत्र पेश गरेका थिए । हरेक बर्ष पुख्र्यौली थलो गोरखा आउन, गोरखकाली, गोरखनाथ पूजाका लागि अहिले जनशक्ति तथा खर्च कटौती भएकाले पूजाआजा गठन कठिन भएकाले सहज बनाइदिन सो पत्रमा माग गरिएको थियो ।

उनी शनिबार अपरान्ह चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन् । आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्