| शुक्रबार, अशोज १५, २०८३

यो बर्षको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईलाई


यो बर्षको लिगलिगे दौडको उपाधी नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । लिगलिगकोट विकास अभियानले सञ्चालन गरेको चेपेघाटदेखि लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेण्डमा पार गर्दै राईले उपाधि हात पारेका हुन् ।


लिगलिगे दौडको ११ औ संस्करणमा पहिलोपटक सहभागिता जनाएका खोटाङ हलेसीका राई त्रिभुवन आर्मी क्लवमा आवद्ध छन् ।


प्रतियोगिताको उपाधि जित्न सफल राईलाई एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्षका लागि लिगलिगकोटको साङ्केतिक राजा घोषणा गर्दै नगद एक लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । ।
सो प्रतियोगितामा नेपाली सेनाकै नरेन्द्रसिंह रावत दोस्रो भएका छन् । निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै उनी दोस्रो बन्न सफल भएका हुन् । यसअघिका ४ वटा प्रतियोगिताको उपाधि विजेता भारतीय सेनाका अनिश थापा यसपटक भने तेस्रो भएका छन् । उनले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । त्यस्तै नेपाली सेनाका मोहनदेव जोशी चौथो र श्रीकाश राई पाँचौं भएका छन् । उनीहरुलाई क्रमशः नगद ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिईएको छ ।


यस्तै, स्थानीयस्तरको खुलातर्फको दौड निर्धारित दुरी ५९ मिनेट ३५ सकेण्डमा पार गर्दै सन्दिप ढकाल पहिलो भएका छन् । प्रतियोगितामा दिनेशसिंह बोगटी दोस्रो, श्याम मग्राती तेस्रो, मोहन बल्छौडी चौथो र सन्तोष पाचौं भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ, चौथो हुनेले ५ हजार र पाचौ हुनेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उक्त विधाको दौडमा साविकको पालुङटार, आँपपिपल, हर्मी, छोप्राक र खोप्लाङ गाविसका पुरुष सहभागी थिए ।


विद्यार्थीका लागि पालुङटार नगरपालिका–३ को मैवलबाट लिगलिगकोटसम्म निर्धारण गरिएको तीन किलोमिटर दौड १५ मिनेट ९ सेकेण्डमा पार गर्दै पालुङटारका विमल परियार पहिलो भएका छन् । प्रतियोगितामा बाग्लुङका बादल कार्की दोस्रो, कास्कीका तेन्जेन रोका तेस्रो, ललितपुरका प्रविन लिम्बु चौथो र तनहुँका अमृत विक पाचौं भएका छन् । सो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाचौं हुन सफल धावकले क्रमशः नगद १५ हजार, १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।


यसअघि दुई वर्ष कोभिड १९ को महामारी र गत वर्ष तयारी नपुगेका कारण प्रतियोगिता हुन नसकेको लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जिव थापाले जानकारी दिए ।


नेपाल एकीककरण अघिको बाईसे चौविसे साना राज्यहरुमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष रानामगरले जानकारी दिए ।


वि.सं. १६०४ मा सुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालिन समयमा दौडको अन्त्य भएको थियो । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।


सोही कार्यक्रममा लिगलिगकोट विकास अभियानका संस्थापक कार्यसमितिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष गेहेन्द्रबहादुर राना, उपाध्यक्ष पूर्णबहादुर राना, सचिव बेदबहादुर राना, कोषाध्यक्ष मानकाजी आले र सदस्यहरु रामबहादुर रोका, सुधनसिंह ठकुरी, रुद्र दमाई र हिरा थापा छन् । संस्थापक सदस्य ठाकुरप्रसाद न्यौपानेलाई मरणोपरान्त सम्मान गरिएको छ । यस्तै, साउथ एशियन गेम्स म्याराथन रेकर्ड होल्डर ओलमिपयन बैकुण्ठ मानन्धर र गोरखा समाज हङकङका अध्यक्ष मनकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका चिजा तामाङ, गायक सन्जय गुरुङ र अनुप आलेले सांगीतिक प्रस्तुत गरेको थिए ।


लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जिव रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, वडाअध्यक्ष कृष्णबहादुर थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्