
आसन्न निर्वाचन : गोरखामा गठबन्धनलाई सिट बाँडफाँटको बिषय पेचिलो
मंसीर ४ गतेका लागि घोषणा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँट गर्न सत्तारुढ गठबन्धनका दलहरु घनिभूत छलफलमा छन् । गठबन्धन भित्रका शिर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा आफैँ लड्ने चाहना राखेकाले गोरखामा सिट बाँडफाँटको विषय पेचिलो बनेको हो ।
स्थानीय निर्वाचनमा समेत केन्द्रीय नेताहरुको प्रत्यक्ष हस्ताक्षेप भएको गोरखामा संघ र प्रदेशको निर्वाचनमा पनि हस्ताक्षेप हुने देखिन्छ ।
बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, चिनकाजी श्रेष्ठ, सुरेन्द्रराज पाण्डे लगायतका शीर्ष नेताले संघमा चुनाव लड्ने विषय अहिले चर्चामा छ । प्रदेशभन्दा संघीय क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउने भन्नेमा चासो धेरैको छ ।
२०७४ मा गोरखा क्षेत्र नम्बर १ मा माओवादीबाट तत्कालीन गठबन्धनका उम्मेद्वार हरिराज अधिकारी विजयी भए । क्षेत्र नम्बर २ मा भने गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई तत्कालिन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले हराएका थिए । नयाँ शक्ति र कांग्रेस एकातिर थिए भने एमाले र माओवादी गठबन्धनमा थिए । केन्द्रीय नेताको इच्छा र प्रत्यक्ष प्रभावका कारण गोरखामा कुन क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन सकस पर्ने देखिन्छ ।
माओवादीले गत वैशाखमा भएको स्थानीय चुनावमा गोरखाको ११ मध्ये ९ स्थानीय तहको प्रमुख जितेको छ भने कांग्रेस २ स्थानीय तह प्रमुखमा खुम्चिएको छ । तर लोकप्रिय मतमा क्षेत्र नम्बर १ मा कांग्रेस नै अघि देखिन्छ । बाबुराम भट्टराईले हालै नयाँ पार्टी गठन गरेका छन् । नेपाल समाजवादी पार्टीबाट उनी गोरखा २ मा चुनाव लड्ने तयारीमा छन् ।
सत्ता गठबन्धनमै रहेर गोरखा २ मा चुनाव उठ्ने तयारी उनको छ । सो पार्टी सत्ता गठबन्धनमा सामेल हुन पाउँछ कि पाउँदैन भन्ने निश्चित भएको छैन । उनी पनि सत्ता गठबन्धनमै आए गोरखा २ मा उम्मेद्वार तय गर्न दलहरूलाई झन् सकस पर्ने देखिन्छ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदबाट राजीनामा दिएर गोरखा–२ मा उम्मेद्वार हुने पक्षमा छन्।क्षेत्र नम्बर २ मा पर्ने गोरखा नगरपालिकाको सात वटा वडा, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामध्ये सिरानचोकबाहेक सबैमा माओवादीले स्थानीय चुनाव जितेको छ । क्षेत्र नम्बर २ मा पर्ने पालिकाभित्रका वडाहरूमा स्थानीय चुनावमा आएको मत हेर्दा माओवादी अगाडि देखिन्छ ।
यसअघि बाबुराम भट्टराईसँग चुनाव हारेका श्रेष्ठ आफ्नो क्षेत्रका स्थानीय तहमा माओवादीको बर्चस्वसँगै पुन चुनाव लड्न सक्ने देखिन्छ । कांग्रेस र माओवादी मात्रैको गठबन्धन गराएर गोरखा क्षेत्र नम्बर २ मा आफू उम्मेद्वार हुन माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता सुरेन्द्र राज पाण्डे लागिपरेका छन् ।
यो क्षेत्रमा माओवादीका वडाध्यक्षका उम्मेद्वारहरूले २२ हजार दुई सय ५० मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वारले २१ हजार एक सय ३६ मत पाएका छन् । यहाँ एमालेलाई ७ हजार ९ सय २६ र जसपाले ७ हजार ५ सय ४ मत मिलेको छ । यहाँ जति मत जसपालाई आएको छ, त्यो बाबुराम निकटको मत हो ।
क्षेत्र नम्बर २ यसपालि नेपाली कांग्रेसले पनि दाबी गर्दैछ । सधैँ क्षेत्र नम्बर २ अरू पार्टीलाई छाडेको भन्दै कार्यकर्तामा असन्तुष्टि देखिएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला आउँदा पटक–पटक कार्यकर्तालाई थुमथुम्याउँदै आगामी चुनावमा कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्यत्र भोट हाल्नु नपर्ने आश्वासन दिँदै आएका थिए ।
कांग्रेससँगको सहयोगमा २०७४ मा चुनाव जितेका तत्कालिन नयाँ शक्ति अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेलगत्तै कांग्रेसलाई म्यूजिएममा राख्नुपर्छ भन्ने अभिब्यक्ति दिएपछि कांग्रेस कार्यकर्ताले चर्को आलोचना गरेका थिए । यस कारण पनि गोरखा क्षेत्र नम्बर २ कांग्रेसले लिन हदै प्रयास गर्ने देखिन्छ ।
प्रमुख दावेवार उम्मेद्वार कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे सभापति शेरबहादुर देउवा निकटका प्रभावशाली नेता हुन् । पाण्डे यसअघि राष्ट्रिय सभामा कांग्रेसबाट दल नेता थिए । गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ कांग्रेसको भाग परेको खण्डमा पाण्डे सर्वसम्मत उम्मेद्वार हुनेछन् ।
गठबन्धनमा बाबुराम भट्टराई पनि सहभागी भएको खण्डमा र उनले गोरखा २ मागेको खण्डमा शीर्ष नेताहरुले दिने सम्भावना पनि उत्तिकै छ । यसो भएमा पुन भट्टराई गठबन्धनका उम्मेद्वार बन्न सक्छन् ।
स्थानीय तहको निर्वाचनमा आफ्नो गृहनगर पालुङटार लिन शीर्ष नेता मार्फत दबाव दिएका भट्टराईले यो प्रयास अन्तिमसम्म गर्नेछन ।
गोरखा क्षेत्र नम्बर १ मा पनि सिट बाँडफाँट गर्न सजिलो छैन ।
गोरखा १ मा गत स्थानीय चुनावमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेद्वारले पाएको मत माओवादीको भन्दा करिब दुई हजार बढी छ । यहाँ कांग्रेसले २७ हजार ८४ मत ल्याएको छ भने माओवादीले २५ हजार चार सय ७२ मत ल्याएको छ ।
चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहीदलखन, गण्डकी र गोरखा नगरपालिकाको सात वटा वडा यस क्षेत्रमा पर्छ । यहाँ आरुघाट बाहेकका सबै पालिका स्थानीय निर्वाचनमा माओवादीले जितेको छ ।
क्षेत्र नम्बर १ का माओवादी नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही क्षेत्रमा उठ्न आग्रह गरेको बिषयले चर्चा पाएको छ । प्रचण्ड भने यस बिषयमा मौन छैन । उनी चितवनबाट लड्ने चर्चा छ । यदि त्यसो भएको खण्डमा कांग्रेस नेता चिनकाजी श्रेष्ठले दावी गर्न सक्छन् ।
गठबन्धनबाट माओवादीको भागमा परेको खण्डमा २०७४ मा निर्वाचन जितेका सांसद हरिराज अधिकारी पुन दोहोरिने संभावना धेरै छ ।
बाबुराम सत्ता गठबन्धनमा आएनन् भने माओवादी र कांग्रेसले गोरखामा एकेक क्षेत्र बाँड्ने सम्भावना छ ।
स्थानीय चुनावमा आएको मतमा गोरखा १ कांग्रेस र गोरखा २ माओवादी बलियो देखिएको छ । तर गोरखा १ माओवादीले लिने र २ कांग्रेसले लिने चर्चा धेरै सुनिन्छ । जिल्ला स्तरका नेता भने कांग्रेस र माओवादी मात्रै मिलेर सिट बाँडफाँट गर्नुपर्ने पक्षमा छन् ।
कांग्रेसका शेखर कोइराला÷गगन थापाको टिम बनाउने मध्यका एक राजेन्द्र बजगाईले पनि आफू क्षेत्र नं. १ को उम्मेद्वार बन्ने दाबी गर्दै आएका छन् । यसअघिको चुनावमा चीनकाजी श्रेष्ठका लागि प्रतिनिधि सभाको टिकटको दाबी छाडेकाले यसपटक आफूले पाउनु पर्ने दाबी उनको छ ।
बाबुराम भट्टराईसहितको चुनावी गठबन्धन भएको खण्डमा गोरखा क्षेत्र नम्बर २ उनले लिने र त्यसो भएको खण्डमा कांग्रेसले संघीय क्षेत्र गुमाउन पनि सक्छ ।




