
पालुङटारको खारखोलामा ह्युमपाईप राखेपछि विद्यालय जान खोलामा हेलिने बाध्यता हट्यो
गोरखाको पालुङटार नगरपालिका ९ स्थित धर्मोदय मावि र मदनेडाँडा माविका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज भएको छ । बाढीले पुल बगाएपछि खोलाबाट आउजाउ गर्नुपर्ने बाध्यता थियो । खारखोलामा ह्यूमपाईप राखेर अस्थायी रुपमा आउजाउ गर्ने बाटो निर्माण गरेपछि भेलमा हेलिएर स्कूल जानुपर्ने बाध्यता हटेको पालुङटार नगरपालिकाका मेयर बिवस चिन्तनले बताए ।
विद्यार्थीलाई धेरै समस्या भएपछि नगरपालिकाले तत्काल २५ एमएमको पाँचवटा ह्यूमपाईप राखेर आउजाउ गर्ने बाटो बनाएको उनले बताए ।
यस्तै मदनेडाँडा मावि जाने विद्यार्थीको सजिलाका लागि पनि कल्भर्ट बनाइएको छ । यसअघि बाढीले कटान गरेको ठाउँ पुरेर चुक्ती खोलालाई पुरानै बाटोमा फर्काइएको र कल्र्भट प्रयोगमा आएको उनले बताए । अहिले बनाइएको बाटोले स्थानीयलाई आउजाउ गर्न पनि सहज भएको छ ।
‘अहिले यो अस्थायी समाधान हो’, मेयर चिन्तनले भने, ‘दुबै विद्यालयका विद्यार्थीलाई सहज हुने गरी संघीय सरकारको सहयोगमा यहाँ छिट्टै पक्की पुल बन्नेछ ।’ पुल बनाउन धेरै लगानी लाग्ने भएकाले संघीय सरकारबाट योजना माग गरिएको उनले बताए ।




