| बिहिबार, बैशाख ३०, २०८३

धावनमार्गमा पक्की सडक बनेका कारण पालुङटार विमानस्थल स्तरोन्नतिको काममा बाधा

केशव गुरुङ

२०३८ सालदेखि बन्द रहेको पालुङटार विमानस्थल स्तरोन्नतिको काम यसबर्षदेखि सुरु भएको छ । नेपाल उड्डयन प्राधिकरणबाट दुईकरोड ७६ लाख रुपैयाँ लागतमा सुरु गरिएको विमानस्थल पुनर्निर्माणको काम कछुवा गतिमा अघि बढेको छ ।

जग्गा अतिक्रमण गरेर पक्की संरचना निर्माण भएका कारण विमानस्थल पुनर्निर्माणमा कठिनाइ भएको पालुङ्टार विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलको धावनमार्गमा पक्की सडक निर्माण गरेपछि विमानस्थल स्तरउन्नतिको कामले पूर्णता पाउन नसकेको हो ।

लामो समयदेखि बन्द रहेको विमानस्थलभित्र पक्की सडक निर्माण गरेको थियो । सोहि सडकको विवादका कारण विमानस्थल स्तरउन्नतीमा ढिलाई भएको पालुङटर विमानस्थल आयोजना प्रमुख इन्जिनियर सुबोध अधिकारीले बताए ।

उनकाअनुसार विमानस्थलको संरचना निर्माण र हाल भएको हवाई मैदान सुधारका लागि लागि २०७७ असार ३१ गते ठेक्का सम्झौता भएको थियो । एक वर्ष भित्र पुर्वाधार निर्मााण र सुधारको काम सक्ने गरी काष्ठमण्डप कन्स्टूक्स प्रालिले दुई करोड ७६ लाख ९७ हजार सात सय ३५ रुपैया ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ साउन १४ गते काम सक्नुपर्ने थियो । तर कोभिड र सडक विवादका कारण विमानस्थलको स्तरउन्नति कार्यमा ढिलाई भएको उनले बताए । समयमै काम सम्पन्न नभएपछि ठेक्का सम्झौता चैत्र मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

‘लामो समय देखि विमानस्थल बन्द रहेको थियो । सोहि समयमा नगरपालिकाले हवाई ग्राउण्डको छेउछेउबाट पक्की सडक बनाएको रहेछ । नापी कार्यालय गोरखाबाट आएको टोलीले पनि केही समयअघि नापजाँच गर्दा विमानस्थलकै जग्गाबाट बाटो लगेको पुष्टि भएको थियो । त्यसैले हामीले नगरपालिकालाई वैकल्पिक बाटो प्रयोग गर्नु भनेर पटक पटक अनुरोध गरेका थियो तर उहाँहरु त्यो कुरा मान्न तयार हुनुभएको छैन’, अधिकारीले भने ।

तीन सय ३६ रोपनीमा पैmलिएको विमानस्थलको छेउबाट पक्की सडक निर्माण गरेकाले घेराबार गर्न समस्या भएको उनले बताए । उनले भने, ‘विमानस्थल बरिपरि तीन किलोमिटर घेरबार गर्नुपर्ने थियो । विमानस्थलको जग्गाभित्रको पक्की सडककै विवादका कारण अभैm सातदेखि आठसय मिटर बाटोमा घेराबार गर्न बाँकी छ । नगरप्रमुख दिपकबाबु कडेल र स्थानीयहरुसँग पनि छलफल भइरहेको छ । हामी सहमति जुटाउने प्रयासमा छौ ।’

त्यस्तै, १२ सय मिटर, लम्बाई र चौडाई ३० मिटर लामो रहेको धावन मार्गमा सव–बेस ओछ्याउने काम ५० प्रतिशत भन्दा बढी सकिएको अधिकारीले जानकारी दिए । सबै गरेर अहिलेसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । विवाद सुल्झेर आवश्यक सामग्री उपलब्ध भएमा माघ मसान्तभित्र काम सक्ने बताए । यो बर्ष बढि पानी परेकाले सव–बेस राख्ने काम ढिलाई भएको उनको भनाई छ ।।

नागरिक उड्डयन प्राधिकरणले कम्तीमा ४२ सीटको विमान उडान अवतरण गर्न सक्ने गरी संरचना निर्माण कार्य सुरु गरेको उनले बताए । यसअघि घाँसेमैदान बनेको सो विमानस्थल अहिले भने आफ्नै स्वरुपमा फर्किन थालेको छ ।

उक्त विमानस्थल २०१७ सालमा निर्माण पूरा भएर २०१८ सालदेखि उडान सेवा सुरु भएको थियो । २०१७ सालमा गोरखा, तनहुँ, लमजुङ, मनाङका विभिन्न क्षेत्रमा खाद्य संकट हुँदा जहाजमार्पmत खाद्यान्न् ढुवानी गरिएको थियो । २०३४ सालसम्म यी जिल्लामा निर्माण भएका खोपानी योजना लागि आवश्यक पर्ने फलामे पाइपहरु पनि ओसारपोसार गरिएको थियो । काठमाडौं पोखरा राजमार्ग निर्माण भएर सस्तो भाडामा बस सेवा चल्न थालेपछि २०३८ सालदेखि यो विमानस्थल बन्द भएको स्थानीयबासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्