
गोरखाका पाँच वटा स्थानीय तहमा आज सार्वजनीक विदा
पृथ्वी जयन्तीको अवसरमा गोरखाका पाँच स्थानीय तहले सार्वजनीक विदा दिएका छन् ।
राष्ट्रनिर्माता तथा नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहको तीन सय औँ जन्मजयन्ती एवं राष्टिूय एकता दिबसको अवसरमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका र अजिरकोट गाउँपालिकाले विदा दिएका हुन् ।
सार्वजनीक सुचना निकाले पालिकाहरुले भब्य रुपमा पृथ्वीजयन्ती मनाउन बिदा सहित बिभिन्न कार्यक्रमको पनि तयारी गरेका छन् । ‘हामीले यस अघिपनि बिदा दिँदै आएका थियौँ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने ‘गोरखाको लागि यो एउटा ऐतिहासिक दिन हो ।’ पृथ्वी जयन्तीको अवसरमा तीन दिन सम्म बिभिन्न कार्यक्रम आयोजना गरिएको र मंगलवार गोरखा संग्रहालयमा वृहत कार्यक्रम हुने उनले बताए ।
नेपाल एकीकरणमा सिरानचोक कोट, गोरखा दरबार र पृथ्वी नारायण शाहको सुमधुर सम्बन्ध देखिएकोले सम्झना स्वरुप एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा बिदा घोषणा गरिएको सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । अन्य पालिकाहरुमा पनि बिविध कार्यक्रम आयोजना गरी पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउने जनाएको छ ।
सार्वजनिक विदा दिइएका पालिका मातहत रहेको सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरु बन्द हुनेछ । बिदा दिएका पालिकाहरुले राष्ट्रिय दिबसको रुपमा पृथ्वीजयन्तीलाई मनाउनुपर्ने बताउँदै आएका छन् ।




