| सोमवार, कार्तिक २३, २०८३

गोरखा क्याम्पस अहिले पनि रातो स्टिकरमा : १२ सय विद्यार्थी जोखिम भवनमा पढ्न बाध्य

केशव गुरुङ

जिल्लाको एक मात्र सरकारी र सबैभन्दा जेठो क्याम्पस गोरखा क्याम्पस ०७२ सालको भूकम्पले क्षति ग्रस्त बनायो । भवनमा रातो स्टिकर लगाएको साँढे छ वर्ष भइसक्यो, तर विद्यार्थी र शिक्षकहरु अहिलेसम्म जोखिमपूर्ण भवनमै पठनपाठन गर्न बाध्य छन् ।
भूकम्पले क्षति पु¥याएको क्याम्पसको भवन बजेट अभावका कारण हालसम्म पुननिर्माण गर्न नसकेको क्याम्पस प्रमुख रामशरण बानियाँले बताए ।

गोरखा क्याम्पसमा हाल ३७ वटा कक्षाकोठामा पठनपाठन हुदै आएको छ । तीमध्य २२ कोठा सुरक्षित भवनमा र १५ कोठा भने रातो स्टिकर लगाइएका े(उच्च जोखिम) अबस्थामा छ । भूकम्पपछि अनुगमनमा आएको इन्जिनियर टोलीले क्याम्पसको ‘रेल’ भवनको ७ कोठा र शिक्षा भवनको ९ कोठा गरी १५ वटा कोठामा पठनपाठन गर्न नमिल्ने भन्दै रातो स्टीकर टाँसेको थियो । तर हालसम्म पनि नयाँ भवन पुननिर्माण हुन नसक्दा जोखिमयुक्त भवनमै पठनपाठन गर्न बाध्य भएको क्याम्पस प्रमुख बानियाँले बताए ।

‘०७२ को भूकम्पले रेल भवनको १५ कोठामा सबै भन्दा धेरै क्षति पुगेको थियो । भवन पुरै चर्किएको छ । अहिले टालटुल गरी पठनपाठन गरिरहेका छौँ,’ उनले भने, ‘विद्यार्थीको चाप कम भएको बेलामा सबैलाई सुरक्षित भवनमै लैजान्छौँ । तर धेरै विद्यार्थी भएको बेलामा भने कक्षाकोठामा खतराको संकेत देखाए पनि बाध्य भएर पठनपाठन गर्नु परेको छ ।’ चर्किएको उक्त भवनमा वर्षातको समयमा पानी चुहिने गरेको र भूकम्पको परकम्पन आएको बेला विद्यार्थीहरु भगाभाग समेत हुने गरेको उनले बताए ।

जिल्लाका ६ वटा क्याम्पसको परिक्षा केन्द्रसमेत रातो स्टिकर लगाइएको जोखिम भवनमा संचालन हुदै आएका छन् । भूकम्पले विज्ञान प्रयोगशाला भन्दा पछाडिको जग्गा पूरै धसिएको छ । क्याम्पसको शौचालय क्षतिग्रस्त बनेको छ । यस्तै, पुस्तकालय भवन जीर्ण बन्दै गएको र पानीबाट जोगाउन त्रिपाल ओढाउनु परेको क्याम्पस व्यवस्थापन समितिका सदस्य रामबाबु श्रेष्ठले बताए । जोखिमयुक्त भवनमा पानी चुहिने गरेकाले प्लास्टिकका टालटुल गरी संचालन गरिरहेको उनले बताए ।

बजेट अभावमा भवन निर्माण हुन सकेन

गोरखा क्याम्पसमा आवश्यकता अनुसार बजेट विनियोजन हुन नसक्दा भवन निर्माण हुन नसकेको क्याम्पस प्रमुख बानियाँले बताए । उनले भने, ‘भूकम्प पश्चात क्याम्पसको भवन तथा पुस्ताकालय भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालय अनुदान आयोगमा दुई करोडको प्रस्ताव पेश भएको थियो तर रकम प्राप्त हुन सकेन, रकम प्राप्त भएको भए भवन बनिसक्थ्यो ।’

६८ रोपनी क्षेत्रफलमा पैmलिएको गोरखा क्याम्पसमा भवन निर्माणका लागि गुरुयोजना समेत तयार भएको तर बजेट अभावका कारण भवन निर्माण तथा मर्मत हुन नसकेको उनले बताए ।
गोरखा क्याम्पसमा १२ सय भन्दा बढी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

व्यवस्थापन संकायका लागि नयाँ भवन निर्माण हुदै

गोरखा क्याम्पसमा पछिल्लो समय सञ्चालन गरिएको व्यवस्थापन संकायका लागि भने नयाँ भवन निर्माण गर्न थालिएको छ । एक करोड रुपैयाँको लागतमा क्याम्पसमा ‘कान्छो संकाय’ व्यवस्थापन संकायको विद्यार्थीका लागि भवन निर्माण गर्न सुरु गरेको हो । ‘सरकारबाट ५० लाख, गोरखा नगरपालिकाबाट ३० लाख, सांसद विकास कोषबाट १०, जिल्ला समन्वय समितिबाट १० लाख गरी कुल एक करोडको लागतमा २ तलेको सात कोठेभवन निर्माण हुदैछ,’ क्याम्पस प्रमुख बानियाँले भने । भवन बनेपछि व्यवस्थापन विषयमा पठनपाठन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
जोखिमयुक्त भवन अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि नयाँ भवनमा सार्न पहल गरिरहेको प्रमुख बानियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्