| सोमवार, कार्तिक २३, २०८३

लोक्पाको पहिरो खुलाउन ३१ लाख लाग्ने

चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार जाने अबरुद्ध बाटो खुलाउन ३१ लाख रुपैयाँ लाग्ने भएको छ । गाउँपालिकाका प्राविधिकले केही दिनअघि गरेको स्टमेट अनुसार लोक्पाको पहिरो खुलाउन उक्त रकम लाग्ने निश्कर्ष निकालिएको हो ।

‘गाउँपालिकाबाट हामीलाई प्राप्त भएको यो स्टमेट गण्डकी प्रदेश सरकारलाई पठाएका छौँ’, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने । लोक्पाको पहिरोबाट अहिले जोखिम मलेर सर्वसाधारण आउजाउ गर्न थालेका छन् । खाद्यान्न, निर्माण सामग्री बोकेको खच्चड पनि उच्च जोखिम मलेर आउजाउ गर्न थालेको सिर्दिबास प्रहरी चौकीले जनाएको छ ।

‘अहिले दिनहुँ खच्चड जाने आउने गरेको छ, तर पहिरोको भने धेरै डर र जोखिम छ । त्यसलाई ब्यवस्थित गर्न प्रदेश सरकारसँग बजेट मागेका छौँ’, प्रजिअ आचार्यले भने । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बाटो खुलाउन बजेट ब्यवस्थापन गर्ने आश्वासन दिए लगत्तै बाटो खुलाउने बारे स्टिमेट गरिएको हो ।

पूर्वाधार बिकास कार्यालय मार्फत उक्त बजेट पठाएर पहिरो खुलाउने योजनामा प्रदेश सरकार छ । पहिरोमा सहज बाटो खुलाउन सहजिकरण गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्