| शनिबार, बैशाख ८, २०८१

महादेवटारमा पहिलो पटक मास महोत्सव, मास किन्नेको ओईरो, ८ लाखभन्दा बढिको बुकिङ

आशिसकुमार भट्ट ः गोरखाको भिमसेन थापा गाउँपालिकामा पहिलो पटक मास महोत्सव भएको छ । उद्यमशिल साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मंगलवार आयोजना गरेको मास महोत्सवमा १७ लाख ५० हजारको कारोबार भएको अध्यक्ष भरत ढकालले बताए ।
महोत्सवमा भिमसेन थापा गाउँपालिका ७ र ८ का किसानले उत्पादन गरेका मास तथा तरकारी किनवेच भएको थियो । छिमेकी वडाबाट र सल्यान्टारबाट पनि महोत्सवमा मास किन्न सर्वसाधारण आएका थिए । ‘२२ वटा स्टल राखेर मास, तरकारी, मासका परिकार बिक्री गरिएको थियो’ सहकारीका अध्यक्ष ढकालले भने ‘मास बिक्री गर्न लैजानुपथ्यो, मेलामा गाउँमै बिक्री गर्न पाएपछि किसानहरु खुसी भएका छन ।’ किसानलाई सजिलो भएको उनले बताए ।
स्टलमा मासबाट बनाईएका मम, समोसा, फुरौला, बारा, दाल, मस्यौरा लगायतका बिभिन्न परिकारहरु बेच्न राखिएको थियो । त्यस्तै स्थानीय स्तरमै उत्पादित आलु, काउली, मुला, पिडालु सखरखण्ड, तरुल, बदाम खरिद बिक्री भएको थियो ।
बोर्लाङमा मासको उत्पादन बढि हुने भएकाले त्यसको प्रचारप्रसार गरि बिक्री बितरण गर्ने उदेश्यले मास महोत्सव आयोजना गरिएको ढकाल बताउँछन् । मास धेरै उत्पादन भएपनि बजार अभावमा किसानलाई समस्या भएको थियो । मेलाले मास उत्पादन हुने मुख्य ठाउँ बोर्लाङ भनेर सबैतिर चिनिएको वडा नम्बर ८ का अध्यक्ष बासु थापा बताउँछन् । ‘किसानलाई प्रोत्साहन गर्न हामी मास महोत्सवलाई अझै ब्यवस्थित बनाउनेछौँ’ अध्यक्ष थापाले भने । पहिलो पटक आयोजना गरिएको मास महोत्सवले उत्साह मिलेको उनले बताए ।
आउँदो वर्ष पनि महोत्सव प्रत्यक बर्षको माघे संक्रान्तिको अघिल्लो दिन निरन्तर गर्ने सहकारीले जनाएको छ । महोत्सवमा माग अनुसार मास नपुगेपछि आठ लाख रुपैयाँ भन्दाबढिको बिभिन्न ठाउँबाट अर्डर भईरहेको सहकारीका अध्यक्ष ढकालले बताए ।
सहकारी संस्थाले हरेक महिनाको अन्तिम दिन निरन्तर हाट बजार लागाउने तयारी गरेको छ । उनले भने ‘हाट बजारले यहाँका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउने समस्या हुँदैन, सबै जना ब्यवशायीक तरकारी, फलफुलहरु खेती गर्न थाल्छन्, यसले यहाँको किसानको आम्दानी बढाउँछ, गुजारा चलाउन सहज हुनेछ ।’
सोही अवसरमा किसानहरुलाई सहकारीले नगद प्रमाणपत्र सहित सम्मानित गरेको थियो । सम्मानित हुनेमध्ये बुद्धिबहादुर कुमाल, जयराम कुमाल, ओमप्रसाद तिमिल्सीना, रमेश दराई र महादेव महिला समुह रहेका छन् । महोत्सवमा करिब १२ सय जना अवलोकन गरेको उनले बताए । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बासु थापाको अध्यक्षतामा भएको महोत्सवमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्