
सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्दै ग्रामीण सबारी, सवारी चेकिङ सहरमुखी
अश्विन दानी :
सवारी दुर्घटनारहित गोरखा बनाउने उदेश्यले जिल्ला प्रहरी गोरखाले गत हप्ताभरि ‘सवारी दुर्घटना नियन्त्रण बिशेष अभियान’ सञ्चालन गर्यो ।
अभियान भइरहेको समयमा दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्लाका बिभिन्न रुटमा टिम बनाएर प्रहरी र ट्राफिक प्रहरी सबारी चेकजाँचमा ब्यस्त देखिन्थे । तर, जब अभियान सकियो प्रहरी र ट्राफिक प्रहरीको सबारी चेकिङ सदरमुकाम केन्द्रित हुन थालेको छ । जसका कारण सदरमुकाम बाहिर कच्ची सडकमा गुड्ने यात्रुबाहक सबारीले सिट क्षमता भन्दा बढि यात्रु बोकेका घटना जहाँतहीँ देख्न थालियो ।
सिट क्षमताभन्दा बढि यात्रु बोक्ने, तिब्र गतिमा सबारीसाधन चलाउने र मादक पदार्थ सेबन गरी सबारी चलाउने गरेका कारण सवारी दुर्घटना हुने गरेको प्रशिक्षणका क्रममा प्रहरीले उल्लेख गर्ने गरेको छ । तर, जिल्लाका बिभिन्न कच्ची सडकमा चल्ने अधिकांस सबारीेले ट्राफिक नियम र यात्रुको जिउधनको बेवास्ता गर्दै सिट क्षमता भन्दा बढि यात्रु बोकिरहन्छन् । तर, यस बिषयमा प्रहरी बेखबर हुने गरेको छ ।
आईतबार पनि बालुवा, नारेश्वर हुँदै गोरखा बजार आएको ग १ ख ५९१६ नम्बर प्लेटको यात्रु बाहक बसले सिट क्षमता भन्दा धन्नै दोब्बर यात्रु बोकेर आएको सोही बसका एक यात्रु सुदिप बानियाँले जानकारी दिए ।
बिहान त्यो गाडीले बस भित्र र छतमा गरि धन्नै एक सय जना भन्दा बढि मान्छे चढाए ल्याएको थियो’ बानियाँले भने, ‘मोडमोडमा कोल्टीएर धन्नै पल्टीन्छ कि भन्ने डर पनि लाग्यो । गाडीवालाले पैसाको लोभले यसरी क्षमता भन्दा बढि यात्रु बोकेपछि दुर्घटना भयो भने के गर्ने ? त्यसको जिम्मेवार को हुने ?’ उक्त रुटमा आईतबार मात्रै नभई अरुदिन पनि सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको उनको भनाई छ ।
गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि आफुहरु दिनरात खटिरहकेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सुकबहादुर बिकले नियम बिपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने आश्वस्त पारे । ‘कानुनी राज्यमा नियम बिपरीत काम गर्ने जो कोहीलाई छुट हुँदैन’, बिकले भने, ‘हामीले गोरखामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चेकजाँचलाई कडाई गरेका छौँ ।
तर, जनशक्ति कम भएकाले सबै ठाउँमा पुग्न सकेको छैनौैँ ।’ उनले थपे, ‘यदि कुनैपनि ठाउँबाट सबारी नियम उल्लङघन गरेको गुनासो र ट्राफिकको माग आयो भने हामी तत्काल त्यो ठाउँमा पुगेर जनगुनासोको सम्बोधन गर्नेछौँ ।’ प्रहरीको सहयोगको खाँचो परेमा प्रहरीको टोलफ्रि नंबर १०० मा सम्पर्क गर्न पनि उनले सुझाव दिए ।




