| शनिबार, बैशाख २५, २०८३

हुलचुकमा चारदिने ल्होसार उत्सव मनाइने

धार्चे गाउँपालिका १ हुलचुकमा पुसको १५ गतेदेखि १८ गतेसम्म विशेष कार्यक्रम गरी ल्होसार पर्व मनाइने भएको छ । स्थानीय गणेश हिमाल एकता युवा क्लवले साँस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता गरी ल्होसार मनाउने तयारी गरेको हो ।
‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव सभ्यता हराउँछ’ भन्ने मूल नाराका साथ क्लवले संस्कृति जोगाउन चारदिने ल्होसार उत्सव मनाउन लागिएको क्लवका अध्यक्ष सन्देश गुरुङले जानकारी दिए ।
फो ल्होसार सांस्कृतिक कार्यक्रम २०७५ नाम दिइएको सो कार्यक्रममा अठारसय खोलामा प्रचलित घाँटु, मारुनी, सोरठी, चुट्का, झ्याउरेलगायतका गीत र नाच प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए ।
‘अठारसय खोलाका पुर्खाहरुको रगत र पसिनाबाट सिर्जित तमु मौलिक कला र संस्कृतिलाई जोगाउन, उत्तरी गोरखाको तमु संस्कृतिलाई थप उचाइमा पु¥याउन, नयाँ पुस्तालाई संस्कृतिको थप उर्जा पैदा गर्न यो उत्सव मनाउन लागेका हौं’, अध्यक्ष गुरुङले भने, ‘त्यसैले तमुहरुको प्रिय मारुनी, घाँटु, सोरठी, झ्याउने र चुट्काको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गर्न स्थानीय युवाहरुको सामुहिक पहलमा यो कार्यक्रम गर्न लागेका हौं ।’
कार्यक्रममा सिर्दिबासदेखि काशिगाउँसम्म, उहियादेखि लाप्राक, लापुसम्मका तमु समुदायको उल्लेखनीय सहभागिता हुने उनले बताए ।
बिभिन्न गाउँबाट आएका लोकसांस्कृतिक प्रस्तुतीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट हुने तीनवटा प्रस्तुतीलाई क्रमश ः पाँचहजार, चार हजार र तीनहजार रुपियाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ छ ।
त्यस्तै भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कारको व्यबस्था गरिएको आयोजकले जनाएको छ ।
धार्चे गाउँपालिका वडा नं. १ को कार्यालय, स्थानीय सल्लाघारी सामुदायिक वन उपभोक्ता समिति, बचेतदेवी आमा समूहको सहयोगमा गणेश हिमाल एकता युवा क्लवले ल्होसार उत्सवको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्