| सोमवार, कार्तिक २३, २०८३

पर्यटनमन्त्रीद्वारा झ्याल्ला भूमे मन्दिरको सिलान्यास

अनुपमा खनाल : गोरखाको अजिरकोट गाउँपालिका ४ को प्रसिद्ध झ्याल्ला भूमे मन्दिर पुनः निर्माणका लागि सिलान्यास गरिएको छ । भूमे जनकल्याण समाजको नेतृत्वमा पुननिर्माण गर्न लागिएको मन्दिरको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले सोमबार एक समारोहका बिच सिलान्यास गरेका हुन् । उद्घाटन कोे क्रममा मन्त्री लम्सालले मन्दिर पुननिर्माणमा आफ्नो मन्त्रालयका तर्फबाट नौ लाख रुपैया उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री लम्सालले भूमे जनकल्याण समाजले तयार पारेको झ्याल्ला भुमे मन्दिरको विशेषता समेटिएको गीतको विमोचन पनि गरेका छन् । समाजका सचिव सुशील दवाडीको शब्द रहेको गीतमा गायक आशु लामाले स्वर र संगीत दिएका छन् । गायक लामाको स्वरमा तारा श्रीश मगरले साथ दिएकी छन् ।
भूमे जनकल्याण समाजको नेतृत्वमा गुरुयोजना बनाएर मन्दिर पुनर्निर्माण सुरु भएको हो । गुरु योजनाअनुसार उक्त मन्दिर परिसरभित्र प्रवेशद्धार, पाटी, मुल मन्दिर, कार्यालय भवन, भूमे स्तम्भ, वनभोज स्थल, पूजा सामग्री पसल, बगैंचा निर्माण, खुला क्षेत्रमा वृक्षा रोपण, नदी कटानलाई रोक्न तटबन्ध तथा पर्खालको व्यवस्था गरी तिर्थालु भक्तजनलाई सहज वातावरण निर्माण गर्नको लागि योजना ल्याइएको छ । यी सबै पूर्वाधार निर्माणका लागि करीव १ करोड १२ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर पुनर्निर्माणका लागि अजीरकोट गाउँपालिकाले दुई आर्थिक बर्षबाट १० लख रुपैयाँ विनियोजन गरेको छ । भूकम्पले क्षतिग्रस्त पारेको मन्दिरको पुनर्निर्माणका लागि हालसम्म २० लाख रुपैयाँ संकलन भैसकेको समाजले जनाएको छ । मन्दिर सिलान्यासका अबसरमा सोमबार करीब ३० हजार रुपैँया संकलन भएको छ ।
गोरखाको कुसुण्डे र झ्याँवा गाउँको बीचमा गडीडाँडा पहरेभीरबाट आएको झ्याल्ला खोलो छ । झ्यावा गाउँको पुछारमा पर्ने भ्याल्ला फाँटको पूर्वपट्टि रहेको भ्याल्लाभूमेलाई भूमिदेवताका रुपमा पुज्ने गरिन्छ । परापूर्वकालमा खेतमा जोत्ने क्रममा हलोले ढुंगोमा ठक्कर लाग्दा ढुंगा फुटेर रगत आउँदा खेतको पानी सवै रगत भएको र हलिगोरुसमेत मरेको भन्ने किंवदन्ती छ । त्यही हलोले ठक्कर लागेको पत्थरलाई नै देवता मानी पूजा गर्ने, रुद्री गर्ने चलन सुरु भएको २०६५ सालमा प्रकाशित अनुसन्धानमूलक पत्रिका ज्ञानविन्दू मा लेखिएको छ । झ्याल्ला भूमे मन्दिरमा मंसीर पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ । यसबाहेक आसपासका बासिन्दाले दैनिक सहित हरेक सोमवार नियमित पूजा गर्दै आएका छन् ।
संस्थाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लम्साल, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी , अजिरकोट गाउँपालिका प्रमुख फणिन्द्र धिताल, डिभिजन वन कार्यालय गोरखाका प्रमुख इमनाथ पौडेल, वडाअध्यक्ष जंगबहादुर गुरुङ, नेपाली कांग्रेस उप सभापति सुकदेव दवाडी, संस्थाका संस्थापक अध्यक्ष दयानिधि दवाडी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दाले बालन, चुडका, कौडा लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्