| आइतवार, कार्तिक २२, २०८३

होटल ब्यबसायीलाई कुपनबाटै उठ्यो करोड

शिव उप्रेती : मनास्लु पर्यटन पदमार्गमा लागु गरिएको कुपनबाट एक करोड रुपैया भन्दा धेरै रकम संकलन भएको छ । विदेशी पर्यटकका गाइड तथा भरियालाई दिइएको कुपनबाट अढाइ महिनामा एक करोड रुपैयाँ उठेको संयुक्त होटल व्यबसायी उपसमितिले जनाएको छ ।
पर्यटकका नेपाली सहयोगीहरुलाई खाना खुवाएका मनास्लु क्षेत्रका करिब एकसय वटा होटलहरुलाई सो रकम वितरण गरिने समितिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार असोज १ गतेदेखि कुपन सिस्टम लागु गरिएको थियो । ‘साँढे दुई महिनामै एक करोड उठ्यो’, कार्कीले भने, ‘हामीले सो रकम चुमनुब्री गाउँपालिका ३ फिलिममा भर्खरै स्थापना गरिएको कुमारी बैंकमा बचत गरेका छौं ।’ आउँदो पुसको १२ गते होटल ब्यबसायीहरुको वृहत भेला गरेर दामासाहीले रकम बाँडफाँट गर्ने उनले बताए ।
यसअघि गाइडहरुले होटलमा निशुल्क खाने गरेका थिए । ‘हामीले पाहुना ल्याइदिएका छौं भनेर गाइडहरुले निशुल्क खाने चलन थियो’, अध्यक्ष कार्कीले भने, ‘त्यसो गर्दा व्यबसायीहरुलाई मर्का परेकाले यो सिजनदेखि पर्यटक प्रवेश गर्ने ठाउँ जगत चेकपोष्टमा नै गाइडहरुसंग खानाको पैसा लिएर कुपन दिने सिस्टम लागु गरेका हौं ।’ मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को चेकपोष्टमा पर्यटक को विवरण दर्ता गरेपछि संगै रहेको होटल व्यबसायी समितिको कार्यालयले कुपन काट्नुपर्ने नियम अनिबार्य गरेको उनले बताए ।
मनास्लु क्षेत्रका होटलमा बस्ने नेपाली सहयोगीसंग दिनको प्रतिछाक दुईसय रुपियाँका दरले शुल्क लिने गरेको समितिले जनाएको छ । जगतदेखि चुमभ्याली र नुब्रीभ्यालीभरिका होटलहरुका लागि कुपन लागु गरिएको हो ।
संकलित रकम व्यापारीले मात्र नलिई सामाजिक काममा पनि खर्च गरिने समितिले जनाएको छ । ‘कार्यालयको भाडा, दुई जना कर्मचारीको तलबमा केही रकम जान्छ’, समितिका अध्यक्ष कार्कीले भने, ‘बाँकी रहेको रकमबाट मनास्लु क्षेत्रमा गाइड तथा भरिया बिरामी भए भने उपचार खर्चका लागि कोष खडा गर्छौं । त्यसबाट बचेको पैसा व्यबसायीहरु लाई बाँड्छौं ।’ जगतदेखि चुम र नुब्रीपुसम्म करिब १२० होटल रहेको अनुमान गरिएको छ । पुस १२ गते हुने भेलाले व्यबसायलाई व्यबस्थित बनाउन थप निर्णय पनि गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्