
मनास्लु आधार शिविरमा दुईसातादेखि निरन्तर बर्सात
मनास्लु आधार शिविरमा विगत दुई सातादेखि निरन्तर पानी परिरहेको छ । ४८०० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा निरन्तर बर्सात भइरहेको स्थानीय नाङ्सेल छ्योदेन लामाले जानकारी दिइन् । निरन्तरको बर्षाले मनास्लु आधार शिविरमा पहिरो गएको उनले बताइन् । ‘यति धेरै उचाइमा विगत बर्षमा कहिल्यै पनि यसरी बर्सात हुदैनथ्यो । यसपालि किन यति धेरै पानी परिरहेको छ’, उनले भनिन्, ‘आकासको पानीले हिउँ पलाग्ने रहेछ । त्यसैले हिउँ पनि पग्लिएको छ । वरिपरि हिउँ देखिदैन ।’ ग्ल्यासियर पनि धेरै टाढा मात्र देखिने उनले बताइन ।
आफू यहाँ आएदेखि नै पानी परिरहेको यहाँ इन्टरनेट सेवा दिइरहेका प्रवल लामाको भनाइ छ । ‘दुई हप्ताजति भयो, निरन्तर पानी परिरहेको छ’, उनले भने, ‘अड्चालिससय मिटर उचाइमा यति धेरै पानी पर्नु स्वभाविक कुरा होइन ।’ मनास्लु आधार शिविरमा जलवायू परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको उनको भनाइ छ ।




