
आरोहीले मनास्लु आधार शिविर खचाखच
शरद ऋतुमा सवैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोहीले खचाखच भरिएको छ ।
यो ऋतुमा आरोहण गर्न अनुमति लिएका ३८ टोलीका ४५१ जना आरोही तथा उनीहरुका सहयोगीले बेसक्याम्प खचाखच भरिएको हो ।
उनीहरु कतिपय बेसक्याम्पमा पुगिसकेका छन्, कतिपय बेसक्याम्प नजिकै रहेको सामागाउँका होटलहरुमा रहेको स्थानीय होटल व्यवसायी मिङ्मार छिरिङ लामाले जानकारी दिए । चुमनुब्री गाउँपालिका १ स्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ४५१ जनामध्य पुरुष आरोहीको संख्या ३३१ जना रहेको छ । महिला आरोही १२० जना रहेका छन् ।
धेरैजसो आरोहीहरु नजिकको बस्ती सामागाउँमा आइसकेका छन् । ‘अधिकांश रोहीहरु काठमाडौँ तथा आर्खेत, सोती, आरुघाटबाट हेलिकोप्टर चार्टर गरी सामागाउँ आउने गर्छन्’, उनी भन्छन्, ‘कोही मनाङतिरबाट हिडेर पनि आउने गर्दछन् ।’ आरोहीका लागि प्रयोग हुने सामानहरु पनि हेलिकोप्टरभित्र राख्न मिल्ने सामान हेलिकोप्टरले नै र लामा तथा ठूलो साइजका सामान खच्चडलाई बोकाएर सामागाउँसम्म पु¥याउने गरिन्छ ।
आरोहीका सामान सामागाउँबाट भने स्थानीयबासीले बोकेर बेसक्याम्पसम्म पु¥याउने प्रचलन रहेको छ ।अहिले धमाधम आरोहीहरु आउने तथा सरसामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङ्सेल छोदेन लामाले जानकारी दिइन् ।
आरोहणका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।
पर्यटन विभागबाट अहिलेसम्म कुल ४५ टोलीका ४९८ जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र ३८ टोलीका ४५१ आरोही रहेको विभागले जनाएको छ ।यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट २१ करोड १० लाख ८५ हजार ७५० रुपैयाँ रोयल्टी सङ्कलन भइसकेको पर्यटन विभागले जनाएको छ । त्यसमध्ये मनास्लुका आरोहीबाट मात्र २० करोड ५५ लाख ८१ हजार ७५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आरोहीले यहाँबाट एक सातादेखि एक महिनासम्मको अभ्यासपछि मनास्लु आरोहण गर्ने गर्छन् । सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।




