
मनकामना आएका पर्यटक आकर्षण गर्न गोरखाको डिजिटल बोर्ड
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामनामा आउने भक्तजन तथा पर्यटकलाई गोरखामा पनि आकर्षण गर्न मनकामना मन्दिर परिसरमा गोरखाको डिजिटल बोर्ड स्थापना गरिएको छ । गोरखा उद्योग वाणिज्य संघले मनकामनाको मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो ।
यहाँ आउने लाखौं पर्यटकलाई गोरखामा आकर्षण गर्न डिजिटल बोर्ड राखिएको संघका अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए । ‘मनकामनामा बर्षमा दशौं लाख भक्तजन, आन्तरिक र वाह्य पर्यटक आउँछन् । उनीहरुका माझ गोरखाको प्रचारप्रसार गरी गोरखा आउने वातावरण बनाउन यहाँ डिजिटल बोर्ड स्थापना गरेका हौं’, अध्यक्ष मास्केले भने, ‘यहाँ अहिले तत्कालका लागि गोरखा नगरपालिकाले निर्माण गरेको भिडियोहरु समेटिएका छन् । पछि अरु भिडियोहरु पनि थप गर्दै जानेछौँ ।’ यहाँ गरिएको प्रचार प्रसारले गोरखामा पर्यटक भित्रिने मास्केले विश्वास व्यक्त गरे ।
डिजिटल बोर्डमा गोरखा दरबार, गोरखकाली मन्दिर, बज्रभैरव, गोरखा संग्रहालय, विष्णुपाञ्चायन, रानीपोखरी लगायतका गोरखा नगरपालिका भित्रका र गोरखा जिल्लाका मनास्लु क्षेत्र लगायतका भिडियोहरु पनि रहेको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले जानकारी दिए । ‘सुरुवात गोरखा उद्योग वाणिज्य संघले गरेको भए पनि यसलाई निरन्तर सहयोग गोरखा नगरपालिकाले गर्नेछ’, मेयर रानाले भने ।
गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको सो कार्यक्रममा मेयर रानाले डिजिटल बोर्डको उद्घाटन गरेका थिए । सो कार्यक्रममा मेयर राना, गोरखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ईश्वरकाजी मास्के, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष निलाम्बर थापा, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजीबाबु श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




