
पूर्वाधार नभए पनि सँधै भरिभराउ ‘भाइरल चौर’,
अहिले भ्रमणको परम्परा विकास भइरहेको छ । यसो फुर्सद मिल्यो कि घर परिबार तथा साथीसंगी मिलेर भ्रमणमा निस्कने प्रचलन बढिरहेको छ । घुमघामको यही माहोलमा गोरखाको सुगम चौर भाइरल चौरका नामले जबर्जस्त चर्चित बनेको छ । पालुङ्टार ७ मा पर्ने यो चौर दिनहूँ पर्यटकले भरिभराउ हुने गरेको छ ।
३६ रोपनी क्षेत्रफलमा फैलिएको ठूलो चौर, छेउमै सलल बग्ने मस्र्याङ्दी र त्यहाँबाट चहुरै ढाकेर बहने सितल हावाले हुनसक्छ आन्तरिक पर्यटक खचाखच भएका । टिकटकले चिनाएको यो चौरमा पर्यटक रमाउने कृत्रिम पूर्वाधार केही पनि छैन । केही छ भने सितल बस्ने केही बुट्यान छ ।
यो पृथ्वी राजमार्गबाट सुगम छ । आँबुखैरेनी डुम्रे सडकखण्डको नयाँपुलबाट मस्र्याङ्दी तरेपछि एक किलोमिटर पार नगर्दै पुग्न सकिने यो सुगम चौरमा गत चैत महिनादेखि आन्तरिक पर्यटक समय बिताउन आउन थालेका हुन् । गोरखा बजार, आँबुखैरेनी, मुग्लिनबजार, डुम्रे, दमौली, बेशीसहर र चितवनदेखि पनि भाइरल चौरमा घुमघाम गर्न आउने गरेका छन् ।
सामान्य दिनमा पनि दुईदेखि तीनसय जना भ्रमण गर्न आउने यहाँ विदाका दिनमा पाँचसय भन्दा बढि आन्तरिक पर्यटक आउने स्थानीय सञ्चारकर्मी रवीन्द्र कँडेल बताउँछन् । ‘यो चौर साँच्चै अरु चौरभन्दाचाहिँ केही फरक छ । ठूलो चौर छ, मुस्ताङतिरजस्तो स–साना बुट्यान छन् । केही परबाट हेर्दा एकदम रमाइलो देखिन्छ’, उनले भने, ‘त्यसैले टिकटकरहरु यहाँ आउने टिकटक बनाउने गर्न चाले । त्यसपछि त एकाएक भाइरल भइहाल्यो ।’
स्वतःस्फूर्त चर्चित बनेको यो चहुरलाई अब पूर्वाधार विकास गरी पर्यटकीय स्थल बनाउनु पर्ने उनको जोड छ । ‘राजमार्गबाट सुगम हुन यसको सबैभन्दा सबल पक्ष हो । नयाँ पुल तरेपछि सातसय, आठसय मिटर हिडेपछि त्यहाँ पुग्न सकिन्छ । यत्ति सडकलाई कालोपत्रे गर्न सके धेरै राम्रो हुनेछ’, उनी भन्छन्, ‘पिकनिकका लागि एकदम उपयुक्त छ । अब यहाँ खानेपानीको सुविधा, सौचालय, केही कटेजहरु बनाउनु जरुरी छ ।’ यसको चहलपहल बारे नगरपालिका पनि जानकार रहेकाले पक्कै केही कार्यक्रम तय गर्ने उनले विश्वास व्यक्त गरे ।




