
मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा, विविध कार्यक्रम गरी मनाइने
यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० बर्ष पूरा हुदैँ छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।
विश्वकै आठौ अग्लो मानिने ८ हजार १६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण भएको ७० औं बर्षलाई विविध कार्यक्रम गरि धुमधामले मनाइने भएको छ । नेपाल पर्यटन वोर्ड, मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लगायत पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाको समन्वयमा चुमनुव्री गाउँपालिकाले कार्यक्रम गर्न लागेको हो । मनास्लु हिमालको फेदीमा रहेको सामागाउँमा कार्यक्रम हुने शुक्रवार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
पहिलो पटक मनास्लु हिमाल आरोहण गर्नेहरुसँगै अन्य आरोहीहरुको मूर्ति अनावरण गरिने उनले जानकारी दिए । ‘आरोहीहरुको हामीले मूर्ति बनाएका छौ,’ उनले भने, ‘कार्यक्रमको अवसर पारेर ती मूर्तिहरु अनावरण गर्छाै ।’ आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । उत्तरी गोरखाको संस्कृति र परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरु समेत हुने उनको भनाइ छ ।
बैशाख २७ गते पोखरामा मनास्लु हिमाल आरोहणका तस्विर साथै मनास्लु हिमालको पहिलो सफल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रद्धर्शन हुने बताइएको छ । पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण गरिएका मनास्लु हिमालको थ्रि डी मोडलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष लामाले बताए ।




