| शुक्रबार, बैशाख ३, २०८३

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै १५ हजार पर्यटक

प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार गत बर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।

विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यसबर्ष मनास्लु आरोहण गरेका एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । ‘२०८१ सालमा १० हजार ४२३ जनाले मनास्लु भ्रमण गरेका थिए । अघिल्लो बर्षभन्दा २०८२ मा चार हजार ४७६ जना बढ्यो’, उनले भने, ‘हरेक महिनाको पर्यटक संख्या तुलना गर्दा अघिल्लो बर्षभन्दा २०८२ मा बढेको देखिन्छ । यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको संकेत गर्दछ ।’

बैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका एमक्यापले जनाएको छ । असार, साउन र माघ जस्ता बेमौसमका महिनामा पनि पर्यटक संख्या उल्लेखनीय वृद्धि भएको देखिएको उनले बताए । अन्य सबै महिनामा वृद्धि भए पनि चैत्र महिनामा भने पर्यटक संख्या घटेको देखिन्छ । अमेरिका, इजरायल, इरान तथा अरवी मुलुकहरुमा विद्यमान युद्ध बढ्दो तनावका कारण विश्वव्यापी पर्यटन प्रभावित भएको एमक्यापको निश्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्