
चार बर्षमा ४० हजार बढी पर्यटककले मनास्लु क्षेत्र घुमे
चार बर्षको अवधिमा ४० हजार बढी पर्यटक मनास्लु क्षेत्र घुमेका छन् । सन् २०२२ देखि २०२५ सम्म ४० हजार ८९५ पर्यटक सो क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।
आयोजनाको तथ्याङ्क अनुसार सो क्षेत्रमा बर्षेनी पर्यटकको संख्या बढ्दो छ । सन् २०२२ मा ६ हजार १०२ पर्यटक सो क्षेत्र पुगेका थिए भने २०२३ मा त्यो संख्या बढेर ९ हजार १७७ पुगेको आयोजना प्रमुख अनिल प्रसाईले बताए । ‘सन् २०२४ मा १० हजार ६१७ पर्यटक आएका थिए,’ उनले भने, ‘२०२५ मा १४ हजार ९९९ पुग्यो ।’
मार्चदेखि मे सम्म र सेप्टेम्वरदेखि नोभेम्वरसम्मको महिनालाई पर्यटकको सिजनको रुपमा लिइन्छ । बढी पर्यटक यही बेला आउने गर्छन् । आयोजनाको तथ्याङ्कले पनि सोही सिजनमा बढी पर्यटक आएको देखाउँछ । ‘चार बर्षको अवधिमा मार्चदेखि मे सम्म १३ हजार २०५ जना पर्यटक आएका रहेछन्,’ प्रसाईले भने, ‘सेप्टेम्वरदेखि नोभेम्वरसम्म आउने पर्यटकको संख्या भने २८ हजार ५२४ रहेछ ।’
सन् २०२६ को तीन महिनाको अवधिमा २ हजार ५८५ जना पर्यटक आइसकेको उनले जानकारी दिए । सबैभन्दा बढी मार्च महिनामा २ हजार १८१ जना पर्यटक रहेको उनले बताए । जनवरीमा ६४ र फेव्रेअरीमा ३४० जना पर्यटक आएका छन् ।
पछिल्लो समय स्वदेशी पर्यटकहरु पनि मनास्लु क्षेत्र घुम्न जाने गरेको पाइएको छ ।
सन् २०२४ मा चार जना नेपाली पर्यटक घुम्नकै लागि सो क्षेत्र पुगेको आयोजनाको तथ्याङ्कमा उल्लेख छ । २०२५ मा २४६ र सन् २०२६ को तीन महिनाको अवधि (जनवरीदेखि मार्चसम्म) मा १०९ जना स्वदेशी पर्यटक मनास्लु क्षेत्र घुमेको आयोजनाले जनाएको छ ।




