
खाडी युद्धको दुश्प्रभाव : मनासलुमा पर्यटक आवागमन घट्यो
माध्यपूर्वी देशहरुमा चर्केको युद्धको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ । खाडी युद्धको प्रभाव जिल्लाको मनासलु क्षेत्रमा आउने पर्यटक आवागमनमा देखिएको त्यहाँका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् ।
मध्यपूर्वी देशहरुमा युद्ध चर्किएसँगै मनासलु क्षेत्रमा पर्यटनको आवागमन घटेको त्यस क्षेत्रका होटल व्यवस्थापन उपसमितिका अध्यक्ष गणेश कार्कीले बताए । अमेरिकी र यूरोपियन राष्ट्रका पर्यटकहरु मध्यपूर्वी देश हुँदै नेपाल भित्रने हुँदा मध्यपूर्वी देशका असुरक्षा भएसँगै पर्यटक आवगमन न्यून भएको उनले जानकारी दिए ।
‘यो पर्यटनको पिक सिजन हो, यतिबेला मनासलु क्षेत्र भरिभराउ हुनुपर्नेमा ६० देखि ७० प्रतिशत पर्यटन दर घटेको छ’, उनले भने । कार्कीका अनुसार मनासलु क्षेत्रमा घुम्न आउने पर्यटकहरुमा अधिकांश इजरायली नागरिक थिए । हाल इजरायलमा युद्ध चर्किएपछि त्यहाँका पर्यटकहरु पनि आउन सकेका छैनन् ।
मनासलु क्षेत्रका अधिकांश होटलमा अहिले खाली रहेको चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासकी होटल व्यवसायी कुमारी गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘अघिल्लो बर्षहरुमा चैत र वैशाखमा त मनासलु पदमार्गमा पर्यटकको घुइँचो लाग्थ्यो । होटलहरु खचाखच हुन्थे । तर यस वर्ष पर्यटक सङख्या न्यून छ । केही केही होटलमा ८–१० जना र अधिकांशमा शून्य पर्यटक रहेको अवस्था छ ।’
चैत पहिलो हप्तासम्मको पर्यटकको संख्या र गत वर्षको पर्यटकको सङ्ख्यासंग तुलना गर्दा पर्यटकको दर नघटेको मनासलु संरक्षण क्षेत्र परियोजना (एमक्याप)का सूचना अधिकारी भुवनराज ओझाले बताए । ओझाका अनुसार गत वर्षको माघ र फागुन महिनामा सात हजार ६२६ पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए ।
यस वर्षको माघ र फागुन महिनामा उक्त सङख्या बढेर १० हजार ४११ पुगेको छ । चैतको पहिलो हप्ता मात्र ४९० जना पर्यटक मनासलु क्षेत्र भित्रिएको भुवन ओझाले जानकारी दिए । यद्यपि शरद ऋतुको तुलनामा अहिले पर्यटकको सङख्या घटेको ओझाले बताएका छन् ।
‘शरद ऋतुमा दैनिक १५० देखि २०० जना विदेशी पर्यटक जगत चेकपोष्ट मार्फत मनासलु क्षेत्र भित्रने गर्दथे’, उनले भने, ‘यो सिजनमा पनि त्यत्तिकै वा त्यो भन्दा बढी पर्यटक भित्रने हाम्रो अनुमान थियो तर त्यो सङख्या घटेको छ । हाल जगत चेकपोष्टबाट दैनिक ५०–६० जना पर्यटक भित्रने गरेका छन् ।’ चालु आर्थिक वर्ष २०८२÷०८३ मा १५ हजार बढी पर्यटक भित्र्याउने लक्ष्य मनासलु संरक्षण क्षेत्र परियोजनाको छ ।




