
मनास्लु क्षेत्र प्रवेश गर्न अब नेपालीले पनि प्रवेश शुल्क तिर्नुपर्ने
अनुपमा खनाल : गोरखाको मनास्लु संरक्षण क्षेत्रमा प्रवेश गर्न नेपाली नागरिकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मनास्लु संरक्षण क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकलाई मात्र यसअघि दुईहजार दुईसय ६० रुपियाँ प्रवेश शुल्क लाग्ने व्यबस्था थियो । नयाँ ब्यबस्था अनुसार नेपाली नागरिकलाई एकसय रुपियाँ प्रवेश शुल्कको ब्यबस्था गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ । सरकारले असोज २९ गते सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मनास्लु संरक्षण क्षेत्रमा नेपालीलाई पनि प्रवेश शुल्क तोकेको लामाले बताए । प्रकाशित सूचना अनुसार मनास्लु प्रवेश गर्न नेपालीले एक सय रुपैयाँ बुझाउनु पर्छ । राष्टिूय प्रकृति संरक्षण कोष (एनटीएनसी) अन्तर्गत रहेका संरक्षण क्षेत्र आयोजनाका काउन्टरबाट अनुमति लिनुपर्छ । सार्क मुलुक र अन्य विदेशी पर्यटक को प्रवेश शुल्कमा पनि वृद्धि गरिएको छ । सार्क मुलुकका नागरिकलाई दुई सयबाट बढाएर एक हजार रुपैयाँ प्रवेश शुल्क पु¥याइएको छ । सार्क बाहेकका मुलुकका पर्यटकले यसअघि करसहित दुईहजार दुईसय ६० रुपैयाँ बुझाउँदै आएकोमा अब तीन हजार रुपैयाँ बुझाउनुपर्ने एम क्यापका प्रमुख लामाले जानकारी दिए । एमक्यापमा पदयात्रा गर्न जाने पर्यटकले काठमाडौंको भृकुटी मण्डप, पोखराको ड्याम साइड, बेंसीसहरमा रहेको काउन्टरबाट परमिट लिने गरेका छन् । पर्यटकका रुपमा जाने नेपालीलाई मात्रै परमिट लिनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख लामाले जानकारी दिए । ‘स्थानीयको हकमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो लागेको छैन’ उनले भने ‘पहिले नेपालीले प्रबेश गर्न दश रुपैया शुल्क कायम गरिए पनि ब्यबहारिक नभएपछि लागु भएको थिएन । अहिले शुल्क लिने कुरा आएसँगै नेपालीको अनुगमन कसरी गर्ने भन्ने विषय चुनौतिको छ ।’ उनका अनुसार एमक्यापले असोज २९ गते दिउँसो सूचना प्रकाशित भएको समयदेखि नै परिमार्जित शुल्क लिएर पर्यटकलाई परमिट जारी गरेको छ । केही बर्षदेखि मनास्लु संरक्षण क्षेत्रमा घुम्न जाने पर्यटकको सख्यां बढ्दै गएको छ । विश्वको आठौं अग्लो मनास्लु हिमाल, बेसक्याम्प, लार्के पास तथा चुम र नुब्री उपत्यका अवलोकनका लागि विदेशी पर्यटक सो क्षेत्रमा जाने गर्छन् ।




