
सिंगापुरबाट आएका पर्यटकले दिए लाप्राकका दुईसय विद्यार्थीलाई न्यानो कपडा
सिँगापुरबाट भ्रमणमा आएका पर्यटकले लाप्राकका विद्यार्थीहरुलाई न्यानो कपडा दिएका छन् । भ्रमणका क्रममा गत जेठमा धार्चे ४ लाप्राकमा आएका मिस्टर को खै, मिस्टर लुकास र मिस्टर ब्रेडेइनले मणिकामदेवी माविकी २२१ जना विद्यार्थीलाई जाकेट वितरण गरेका स्थानीय तुल्सिङ गुरुङले जानकारी दिए ।
उनीहरुको भ्रमणको व्यवस्थापन गर्ने हिमालयन सम्मिट क्लवका तुल्सिङ गुरुङको समन्वयमा विद्यार्थीहरुलाई न्यानो कपडा जाकेट प्रदान गरिएको हो । ‘नेपाल भ्रमणमा आएका तीनजना सिंगापुरका नागरिकले गत जेठ महिनामा मणिकामदेवी माविको भवनको भित्तामा चित्रकलाहरु बनाउने, रंगरोगनहरु गरेका थिए । अहिले फेरि स्कूलका विद्यार्थीहरुको अबस्था देखेर हामी न्यानो कपडा पनि दिन्छौँ भन्ने प्रस्ताव गरे’, गुरुङले भने, ‘अनि उनीहरुको आर्थिक सहयोगमा मैले जाकेटहरु खरिद गरी यहाँ नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थी र शिक्षक गरी २२१ जनालाई वितरण गरिदिएँ । अब केही महिनापछि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई पनि वितरण गर्ने योजना गरेको छु ।’ साथै शिक्षकहरुलाई पनि पुनर्ताजगी तालिम आयोजना गर्नेे व्यवस्था गरेको उनको भनाइ छ ।




