
सन् २०२५ मा १५ हजार पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण
प्रतीक्षा आले ।
सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढी पहिरो, हिमपात र जेन जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको हो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले तयार गरेको अभिलेख अनुसार १४ हजार नौँ सय ८० जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । १४ हजार ७३८ जना विदेशी, सार्क राष्ट्रबाट ३४४ जना र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाईनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए । सन् २०२५ मा पर्यटन भित्रिएबापत तीन करोड ८५ लाख ८६ हजार रुपैँया संरक्षण क्षेत्र प्रवेश शुल्क संकलन भएको एमक्याप प्रमुख शेरचन बताउँछन् ।
‘जसमध्य सार्क राष्ट्रका पर्यटकहरुबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट ४८ हजार रुपैँया संकलन भएको छ’, उनले भने । मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनु पर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
‘पर्यटकले काठमाडौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनु पर्ने प्रावधान छ’, उनले भने, ‘यी दुबै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।’ नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति एकसय रुपैँया प्रवेश शुल्क तोकिएको उनी बताउँछन् ।
यसअघि विदेशी पर्यटकको मात्र विवरण संकलन गर्ने गरेको एमक्यापले सन् २०२५बाट भने नेपाली पर्यटकहरुको विवरण समेत राख्न सुरु गरेको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८१/८२ मा मनासलु क्षेत्रमा अहिलेसम्मकै धेरै १२ हजार ५१२ जना पर्यटक भित्रिएकोमा त्यो रेकर्ड यो वर्ष टुट्ने एमक्यापको अनुमान छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन्, ‘स्रोत साधनको प्रयोग गरेर पर्यटकहरुको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनासलु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।’
मनासलुमा हरेक वर्ष उल्लेखनिय रुपमा पर्यटकको सङख्या बढ्दै गएको उनको भनाई छ । एमक्यापको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ७८२ जना पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ७०५ र आर्थिक वर्ष ०७८/०७९ मा २ हजार २८४ जना पर्यटकले मात्र उक्त क्षेत्र भ्रमण गरेका थिए । वर्षेनी पर्यटकको सङख्यामा बृद्धि हुदैँ जानु सुखद पक्ष भएको एमक्याप प्रमुख शेरचनको भनाई छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २०७७/०७८ मा सबैभन्दा कम अर्थात जम्मा एकसय ९४ जना, आर्थिकवर्ष २०७६/०७७ मा ५ हजार ३३८ र २०७५/०७६ मा ७ हजार ६५५ जना रहेको थियो ।




