
मनासलु क्षेत्रको ‘व्यवस्थापन योजना’ कार्यान्वयनका लागि राय संकलन
मनासलु संरक्षण क्षेत्रमा ५ वर्षे ‘व्यवस्थापन योजना’ लागु गर्नका लागि सरोकारवाला निकायहरुको राय संकलन गरिएको छ । मनासलुमा व्यवस्थापन योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आईई)अन्तरगत सार्वजनिक सुनुवाई गरेर स्थानीयहरुको राय संकलन गरिएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
मनासलुको ५ वर्षे व्यवस्थापन योजनाभित्र संरक्षण क्षेत्रमा मानव वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण, जडिबुटी संकलन, संरक्षण क्षेत्रमा पर्यटन व्यवस्थापन, पूर्वधार निर्माण लगायतको विषय उल्लेख गरिएको एमक्यापका संरक्षण अधिकृत भुवनराज ओझाले बताए । उनका अनुसार मनासलु क्षेत्रमा व्यवस्थापन योजना लागु भएपछि मात्र विभिन्न कार्यक्रमहरु संचालन गर्न पाउने प्रावधान छ । आयोजनाले आर्थिक वर्ष २०८०/८१ देखि ०८४/८५ का लागी संरक्षण क्षेत्र व्यवस्थापन योजना तयार गरेको उनले जानकारी दिए ।
‘मनासलुको व्यवस्थापन योजनालाई राष्ट्रिय निकुन्ज विभागले गत भदौबाटै लागु गरिसकेको छ । हाल योजना लागु भएपछि उक्त क्षेत्रमा के कस्ता वातावरणीय प्रभाव पर्छन् भनेर सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरी प्रारम्भिक वातावरणीय परिक्षण गरेका छौँ’, उनले भने, ‘सरोकारवाला निकायहरुसँग राय संकलन गरेर हामीले एउटा प्रतिवेदन तयार गर्छौँ । उक्त प्रतिवेदनलाई पुनः राष्ट्रिय निकुन्ज विभागले स्वीकृत गरेपछि मात्र योजना कार्यान्वयन गर्न मिल्छ ।’
छिटै प्रतिवेदन स्वीकृत गराएर मनासलु संरक्षण क्षेत्रमा व्यवस्थापन योजना कार्यान्वयन गराउने एमक्यापका संरक्षण अधिकृत भुवनराज ओझले बताएका छन् । व्यवस्थापन योजना कार्यान्वयन गराउन वातावरण संरक्षण परामर्श केन्द्रले सहजीकरण गरेको उनको भनाई छ ।
मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का प्रमुख सन्तोष शेरचनको अध्यक्षता एवं चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछाने, चुमनुब्री गाउँपालिका अन्तरगत सातै वटा वडाहरुको वडाअध्यक्ष, कार्यपालिका सदस्य, पालिकाको कर्मचारी, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।




