
पर्यटन प्रवद्र्धनमा गोरखा र लम्जुङका पालिकाहरुको संयुक्त पहल
गोरखा र लमजुङ जोड्ने वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरु जुटेका छन् । सो ट्रेलअन्तरगत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकाहरु संयुक्त रुपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धनमा जुटेका हुन् ।
सो पदमार्गमा जोडिने पाँचवटा पालिकाहरुले पर्यटन पदमार्गको दीगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चीर परिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।
ती पालिकाहरुलाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) अन्तर्गतको दीगो पर्यटन परियोजना(एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान)ले एकजुट गराएको छ । गत बिहिबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकाहरुलाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो ।
गोष्ठीमा वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई कार्यान्वयनमा ल्याउने गरी २१ सदस्ययी समिति पनि गठन भएको छ । पाँचवटा पालिकाका अध्यक्षहरु सल्लाहकार हुने र पालिकाको उपाध्यक्ष एवं सम्बन्धित निकायको कर्मचारीहरु सदस्य हुने गरी उक्त समिति गठन भएको हो ।
वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले वुद्ध हिमाल, हिमचुली, मनासिरी हिमश्रृङ्खला तथा उच्च हिमतालहरुलाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ । यसबाट स्थानीय समुदायमा आधारित दीगो पर्यटन प्रवद्र्धन गर्ने विश्वास त्यहाँका स्थानिय पालिकाहरुको छ । साथै यस क्षेत्रलाई पर्यटन हवका रुपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँडी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ ।
भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तर्राष्टिङय स्तरमा प्रचार प्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्य योजना बनाउने बारे तीन दिने गोष्ठी तथा लालिम संचालन भएको अजिरकोट गाउँपालिकाको उपाध्यक्ष अनिता भुजेलले बताउनुभयो । तालिममा पाँचै वटा गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखहरुले सहभागीता जनाएको उहाँले जानकारी दिनुभयो ।
तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाई, केन्द्रिय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डाक्टर चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतम लगायत सहभागी थिए ।




