| शुक्रबार, बैशाख १७, २०८३

चार महिनामा गोरखा संग्रहालयमा ३६ हजार बढी पर्यटक, आठ लाख बढी राजश्व संकलन

चार महिनामा ३६ हजार बढीले गोरखा संग्रहालयको अवलकोन गरेका छन् । आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म ३६ हजार ५०६ जना पर्यटकले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । कुल ८ लाख ३० हजार राजश्व संकलन भएको संग्रहालय प्रमुख जयनारायण कार्कीले बताए ।

शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा संग्रहालयमा विद्यार्थी पर्यटकको संख्या पनि दिनहुँ बढ्न थालेको उनले जानकारी दिए । ‘कात्तिकमा मात्रै १८ हजार ४ सय ५५ जनाले संग्रहालय अवलोकन गरेका छन् । ‘जसमध्य अधिकांश विद्यार्थी हुन्’, उनले भने, ‘कात्तिकमा ३ लाख ५४ हजार रुपैँया राजश्व संकलन भएको छ ।’ उनका अनुसार असोजमा ६ हजार ११९, भदौमा चार हजार १८५ र साउनमा ७ हजार २४७ जनाले संग्रहालय अवलोकन गरेका छन् ।

‘असोजमा एक लाख ६० हजार ६९०, भदौमा एक लाख २७ हजार ८२० र साउनमा एक लाख ८७ हजार ३६५ रुपैँया राजश्व संकलन भएको थियो’, संग्रहालय प्रमुख कार्कीले भने । गोरखा संग्रहालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष कुल १ लाख २२ हजार ७३३ जनाले संग्रहालय अवलोकन गरेका थिए । जसमध्ये ३६ हजार २९८ बिद्यार्थी थिए । आर्थिक बर्ष २०८०/८१ मा भने संग्रहालय अवलोकन गर्ने बिद्यार्थीको संख्या ३५ हजार ३५६ थियो । बर्षेनी बिद्यार्थी संगै पर्यटकको संख्या बढ्दै गएको संग्रहालयले जनाएको छ ।

असोजदेखि पुष महिनालाई शैक्षिक भ्रमणको सिजनको रुपमा लिने गरिन्छ । राज्य एकीकरणका अभियन्ता राजा पृथ्वी नारायण शाहले राज्य गरेको गोरखा दरवार र यसको ऐतिहासिक महत्व बुझ्न अधिकांश बिद्यालयको शैक्षिक भ्रमणको गन्तव्यमध्ये गोरखा पनि पर्ने पर्छ । देशका अधिकांश जिल्लाबाट शैक्षिक भ्रमणका लागि गोरखा आउने गर्छन् । गत बर्ष मात्रै अवलोकन वापत संग्रहालयले २८ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा केही बढी हो ।

यो बर्ष पनि पर्यटकसँगै राजश्व पनि बढ्ने संग्रहालयको अनुमान छ । संग्रहालय अवलोकन वापत बिद्यार्थीले दश रुपैया शुल्क तिर्नुपर्छ । नेपालीले २५ रुपैया तिर्नुपर्छ भने बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि एक सय रुपैया शुल्क लाग्ने बताइएको छ । संग्रहालय साताको सबै दिन खुल्ने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्