
शैक्षिक भ्रमणको सिजन सुरु, संग्रहालयमा बढ्न थाले विद्यार्थी पर्यटक
शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा संग्रहालयमा विद्यार्थी पर्यटकको संख्या बढ्न थालेको छ । विगत केही दिनदेखि बिद्यार्थीहरु आउने क्रम बढेको संग्रहालयले जनाएको छ । ‘तीन चार दिन भयो बिद्यार्थीहरुको भिड हुन थालेको,’ संग्रहालय प्रमुख जयनारायण कार्कीले भने, ‘गत शुक्रवारमात्रै करिव साढे सात सय बिद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए ।’ उनका अनुसार सो दिन संग्रहालय अवलोकन गर्नेको कुल संख्या करिव १२ सय थियो । जसमध्ये अधिकांश बिद्यार्थी थिए ।
तथ्याङ्क अनुसार गत बर्ष कुल १ लाख २२ हजार ७३३ जनाले संग्रहालय अवलोकन गरेका थिए । जसमध्ये ३६ हजार २९८ बिद्यार्थी थिए । आर्थिक बर्ष २०८०/८१ मा भने संग्रहालय अवलोकन गर्ने बिद्यार्थीको संख्या ३५ हजार ३५६ थियो । बर्षेनी बिद्यार्थी संगै पर्यटकको संख्या बढ्दै गएको संग्रहालयले जनाएको छ । यो बर्ष पनि बिद्यार्थी र पर्यटकको संख्या बढ्ने अनुमान गरिएको संग्रहालय प्रमुख कार्कीले बताए । ‘यसअघि दशै आउनु अगावैबाट शैक्षिक भ्रमण आउने क्रम सुरु हुन्थ्यो तर यो बर्ष बर्षा र पहिरोले सडकहरु अवरुद्ध भएका कारण केही ढिलाइ भयो, तर अहिले धमाधम आउन थालेका छन्,’ उनले भने ।
असोजदेखि पुष महिनालाई शैक्षिक भ्रमणको सिजनको रुपमा लिने गरिन्छ । राज्य एकीकरणका अभियन्ता राजा पृथ्वी नारायण शाहले राज्य गरेको गोरखा दरवार र यसको ऐतिहासिक महत्व बुझ्न अधिकांश बिद्यालयको शैक्षिक भ्रमणको गन्तव्यमध्ये गोरखा पनि पर्ने पर्छ । देशका अधिकांश जिल्लाबाट शैक्षिक भ्रमणका लागि गोरखा आउने गर्छन् ।
गत बर्ष मात्रै अवलोकन वापत संग्रहालयले २८ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा केही बढी हो । यो बर्ष पनि पर्यटकसँगै राजश्व पनि बढ्ने संग्रहालयको अनुमान छ । संग्रहालय अवलोकन वापत बिद्यार्थीले दश रुपैया शुल्क तिर्नुपर्छ । नेपालीले २५ रुपैया तिर्नुपर्छ भने बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि एक सय रुपैया शुल्क लाग्ने बताइएको छ । संग्रहालय साताको सबै दिन खुल्ने प्रमुख कार्कीले जानकारी दिए ।




