| आइतवार, साउन २३, २०८३

आरोहीको गाउँ बन्दै लाप्राक आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्नेको संख्या १८

प्रतीक्षा आले ।
शेर्पा समुदायपछि सबैभन्दा धेरै आरोहीहरु उत्तरी गोरखाको लाप्राकका रहेका छन् । करिब छसय घरधुरी रहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा आरोहीको संख्या १२५ भन्दा धेरै रहेको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक संघका अध्यक्ष तुलसिंह गुरुङले बताए ।

गुरुङका अनुसार लाप्राक आरोहीको गाउँ भनेर परिचित भइसकेको छ । ‘आठहजार मिटरभन्दा अग्ला हिमाल चढ्को संख्या १८ जना पुगिसकेको छ’, उनले भने, ‘छ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नेको संख्या एकसयभन्दा धेरै छ । पर्यटन र पर्वतारोहणका क्षेत्रमा पथप्रदर्शक भएर काम गर्नेको संख्या अनगिन्ती छ । त्यसैले लाप्राकले आफूलाई आरोहीको गाउँ भनेर स्थापित गरिसकेको छ ।’

लाप्राकबाट सबैभन्दा पहिले हिमाल आरोहणको क्षेत्रमा प्रवेश गर्ने इमानसिङ गुरुङ हुन् । सगरमाथा आरोहण गरिसकेका उनको कङ्गारु हिमाल आरोहणका क्रममा निधन भएको थियो । त्यसयता लाप्राकका युवाहरु हिमाल आरोहणका क्षेत्रमा प्रवेश गरेका नेपालकै प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङको भनाइ छ ।

हालसम्म यहाँका इमानसिंह गुरुङ, तुलसिंह गुरुङ, मुलाल गुरुङ, सुमन गुरुङ, पुरबहादुर(युक्त) गुरुङ, इमान गुरुङ, केशब गुरुङ, सन्दिप गुरुङ, रामबहादुर गुरुङ, सुजल गुरुङ, बिसबहादुर गुरुङ, डम्बर गुरुङ, बुद्ध गुरुङ, आशबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, सुजन गुरुङ, तिराज गुरुङ र रमेश गुरुङले आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेका छन् । उनी भन्छन्, ‘लाप्राकबाट मात्रै अहिले पाँच जना अन्तर्राष्ट्रिय पर्वतारोहण पथपर्दशक छन भने ६ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्नेको सङख्या १०० भन्दा बढी छ ।’

लाप्राकका बासिन्दाले आफ्नो गाउँलाई आरोहीको गाउँ भनेर चिनाउने प्रयास गरिरहेका छन् । गाउँमा इमान पार्क निर्माण गरी सबैभन्दा पहिले हिमाल आरोहणका क्षेत्रमा प्रवेश गर्ने इमानसिंह गुरुङको सालिक स्थापना गरेका छन् । इमानले सन् १९८२ देखि हिमाल आरोण सुरु गरेका थिए । त्यसपछि यहाँका युवाहरुले पर्यटन तथा हिमाल आरोहणलाई व्यवसायका रुपमा अपनाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्