| आइतवार, साउन २३, २०८३

एकै सिजनमा लाप्राकका १० जनाद्वारा मनास्लु आरोहण

आरोहीको गाउँ भनेर नाम चलेको गोरखाको लाप्राक गाउँका १० जनाले यो सिजनमा मनास्लु हिमाल आरोहण गरेका छन् ।
आरोहण संस्कृतिलाई बढवा दिइरहेको धार्चे गाउँपालिका ४ लाप्राकका १० जनाले विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हालसालै आरोहण गरेका हुन् ।

स्वदेशी, विदेशी गरी ३७४ जना आरोहीले मनास्लु आरोहण गर्न अनुमति लिएकामा लाप्राक एउटै गाउँका १० जनाले सफल आरोहण गरेका आरोही तुलसिँङ गुरुङले जानकारी दिए । उनका अनुसार लाप्राकका बुद्ध गुरुङ, सन्दीप गुरुङ, सुजन गुरुङ, तिरज गुरुङ, इमान गुरुङले यो सिजनका विभिन्न मितिमा मनास्लु आरोहण गरेका हुन् । त्यस्तै रामबहादुर गुरुङ, पूर्ण गुरुङ, आशिष गुरुङ, डम्बर गुरुङ र सुजल गुरुङले यो सिजनमा मनास्लु आरोहण गरेका उनको भनाइ छ ।

धार्चे गाउँपालिकाबाट अरु दुई जनाले पनि यो सिजनमा मनास्लु आरोहण गरेका छन् । धार्चे २ रुञ्चेतका नवराज गुरुङ र सोही वडाको केरौंजाका हरिबहादुर गुरुङले पनि यही सिजनमा मनास्लु आरोहण गरेका हुन् । सोलुखुम्बुका शेर्पा समुदायपछि सबैभन्दा धेरै हिमाल आरोहण गर्नेमा गोरखाको लाप्राकका गुरुङ समुदाय छन् । उनीहरुले विभिन्न कम्पनीमा आवद्ध भई गाइड तथा शेर्पा बनेर हिमाल आरोहणलाई व्यवसायिकता अपनाउन थालेका आरोही तुल्सिङ गुरुङको भनाइ छ ।

आरोहणलाई व्यवसायका रुपमा अपनाउनेहरुलाई प्रोत्साहन गर्न गाउँपालिका तथा धार्चेका सामाजिक संघसंस्थाहरुले हिमाल आरोहीहरुलाई समय समयमा अभिनन्दन गर्ने गरेको छ । मनास्लु गोरखाको चुमनुब्री गाउँपालिका १ मा अवस्थित ८,१६३ मिटर अग्लो हिमाल हो । यसलाई किलर माउण्टेन भनेर पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्